६ बैशाख २०८१, बिहिबार

भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर


भुवन केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । चलचित्र विकास बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको हो ।

सरकारले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने निर्णयविरुद्ध बोर्ड अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेकामध्ये नरेश कुमार पौडेलसहितले बिहीवार अदालतमा केसीविरुद्ध सर्वोच्चमा संयुक्त रिट निवेदन दिएका हुन् ।

अध्यक्ष पदमा आवेदन दिएका अन्य फिल्मकर्मीहरुको समर्थनमा निर्देशक समेत रहेका पौडेलले रिट निवेदन दिएका हुन् । अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

सूचना तथा सञ्चार मन्त्रालयले अध्यक्ष पदमा आवेदन दिन जारी गरेको सूचनामा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी फिल्म उद्योगमा कम्तीमा २० वर्षसम्म कार्य गरेको हुनुपर्ने उल्लेख भएकोमा केसीले प्रवीणता प्रमाणपत्र उतीर्ण नगरेको भन्दै पौडेलले मुद्धा हालेका हुन् ।

केसीलाई साउन ९ गते बसेको मन्त्रिपरिषदको बैठकले २ वर्षका लागि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । भुवनसँगै अध्यक्ष पदका लागि अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेश पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुष्मा कार्कीले आवेदन दिएका थिए ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिटमाथि साउन ३० गते प्रारम्भिक सुनुवाइ हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !