एमालेद्वारा निर्वाचन परिचालन कमिटी गठन, भदौ पहिलो साता तीनै कमिटीको बैठक आह्वान Nepalpatra एमालेद्वारा निर्वाचन परिचालन कमिटी गठन, भदौ पहिलो साता तीनै कमिटीको बैठक आह्वान
१५ आश्विन २०७९, शनिबार

एमालेद्वारा निर्वाचन परिचालन कमिटी गठन, भदौ पहिलो साता तीनै कमिटीको बैठक आह्वान


एमालेको सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

उक्त परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहने छन् । जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने छन् ।

यस्तै एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

आज बसेको बैठकले आगामी निर्वाचनका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । एमालेले भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला एमालेले पनि आसन्न निर्वाचनको तयारीका लागि चुनावी रणनीति बनाएको हो । निर्वाचनको मिति घोषण भएसँगै राजनीतिक दलहरुले छलफललाई तीव्रता दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !