७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता


शेरबहादुर देउवा र डोनाल्ड लु

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा पुगेर अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

प्रधानमन्त्री देउवाले आज  अपरान्ह अमेरिकी सहायक विदेशमन्त्री लुलाई स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको सामाजिक संजाल ट्वीटरमार्फत बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका विविध आयामबारे विचार आदान-प्रदान भएको बताएका छन् ।

सो अवसरमा उनले आफूले अमेरिकाको निरन्तर विकास सहयोगको लागि धन्यवाद दिँदै अझ उच्च स्तरको आर्थिक संलग्नताको अपेक्षा समेत गरेको जनाएका छन् । यसअघि आजै सहायक विदेश मन्त्री लुले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए ।

बिहिबार साँझ नेपाल भ्रमणमा आएका सहायक विदेश मन्त्री लुले यसअघि पनि गत मंसिरमा नेपालको भ्रमण गरिसकेका थिए । यो पटकको भ्रमणका अवसरमा उनले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूताबासले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !