१२ बैशाख २०८१, बुधबार

प्रतिनिधिसभाद्वारा ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ पारित


नागरिकता विधेयक पारित फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ लाई सर्वसम्मतीले पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयकलाई पारित गरिनु पूर्व बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहित विधेयक माथि छलफल भई छलफलमा उठेका प्रश्नहरुको शिक्षामन्त्री पौडेलले जवाफ समेत दिएका थिए ।

बैठकले मदन भण्डारी विज्ञा तथा प्रविधि विश्विद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतीले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको अघिल्लो बैठकमा गणपूरक संख्या नपुगेकाले निणर्यार्थ प्रस्तुत हुन नपाएको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले आज निणर्यार्थ प्रस्तुत गरेका हुन् ।

अघिल्लो बैठकमा शिक्षामन्त्री पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्विद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन माथि विचरा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

आजको बैठकले ‘तथ्याङ्क विधेयक, २०७६’ लाई पनि सर्वम्मतीले स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयकलाई स्वीकृत गर्नु पूर्व बैठकमा विधेयक माथि सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री देउवाको तर्फबाट गृहमन्त्री खाणले जवाफ समेत दिएका थिए ।

यसैबीच, प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोराना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सांसदहरुलाई सतर्कता अपनाउन र मास्क लगाउन रुलिङ गरेका थिए । रुलिङ गर्दै सभामुख सापकोटाले भने, ‘कोभिड-१९ को संक्रमण दर लगातार बढ्दै गइरुहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकहरुमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्दछु ।’

प्रतिनिधि सभाको आजको बैठकको शुरुमै सभामुखसँग समय मागेर बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद योगेश भट्टराईले अहिले विश्वभर मंकिपक्स रोगको प्रकोप बढ्दै गइरहेको र अहिलेसम्म यो रोगबाट विश्वभरमा ५ जनाको मृत्यु भइसकेकाले अहिले विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको भन्दै सभामुख मार्फत स्वास्थ्य मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

छिमेकी मुलुक भारतमा समेत यो रोग देखिएको र खुल्ला सीमाना भएका कारणले पनि नेपालले सीमा क्षेत्रहरु र एयरपोर्टमा सचेतनामूलक साईनबोर्डहरु राख्ने तथा चेकजाँचमा कडाई गर्न माग गर्दै सांसद भट्टराईले आज बिहानसम्म मात्रै काठमाडौं उपत्यकामा ३४ जना हैजाका विरामी देखिएको पनि बताए ।

उनले सबै खानेपानीको मुहानहरुमा र खानेपानीको सप्लाई गर्ने ट्यांकरहरुको पानीको नमूना जाँच्न माग गर्दै अहिले कोराना भाईरसको नयाँ प्रजातिको प्रकोप बढिरहेकाले स्कूलहरुमा सचेतनामूलक कार्यक्रमहरु संचालन गर्न माग समेत गरेका थिए ।

आजको बैठकमा सांसदहरु शुन्य समयमा बोल्दै सभामुख मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १३ गते बिहान ११ बजे बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !