६ बैशाख २०८१, बिहिबार

राप्रपा छाडेका पूर्वमन्त्रीसहित चार नेता राप्रपा नेपालमा प्रवेश


राप्रपा नेपालमा प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री दिलनाथ गिरीसहित चार नेता राप्रपा नेपालमा प्रवेश गरेका छन् । राप्रपाले स्पष्टीकरण सोधेपछि गत साउन ३ गते मंगलबार उनीहरुले राप्रपा परित्याग गरेका थिए ।

विगतमा गिरी राप्रपाबाट दुई पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र शहरी विकास मन्त्री भएका थिए । गिरीसहित राप्रपाका अन्य नेताहरु श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारी गरी चार जना नेताहरु कमल थापा नेतृत्वको राप्रपा नेपाल प्रवेश गरेका हुन् ।

आज बिहीबार दिउँसो राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन् ।

पार्टीभित्र अपमानित र अपहेलित भएर बस्नु भन्दा पार्टी छोडनु हितकर हुने ठानी पार्टी परित्याग गरेको यसअघि यी चार नेताले जनाएका थिए । उनीहरुलाई केही समय अघि मात्र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले स्पष्टीकरण सोधेको थियो ।

उनीहरुले राप्रपाभित्र आन्तरिक प्रजातन्त्र नरहेको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको भन्दै उनीहरुले अपमानित भएर पार्टीमा बस्न नसकेको स्पष्ट बताएका थिए । उनीहरुले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेकोले यो अभियानमा आफूहरू निरन्तर क्रियाशील रहने बताएका थिए ।

यो पनि पढ्नुहोस्

दुई पटक मन्त्री भइसकेका गिरीसहित चार नेताले छाडे राप्रपा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !