८ बैशाख २०८१, शनिबार

भारत भ्रमण सोचेभन्दा सफल भयो, मोदीसँग के कारणले भेट भएन थाहा छैन : प्रचण्ड


प्रचण्ड एयरपोर्टमा फाइल फोटो

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले भारत भ्रमण सोचेभन्दा सफल भएको जिकिर गरेका छन् । तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतीय पक्षसँग सौहाद्र्रपूर्ण वातावरणमा कुराकानी भएको पनि दावी गरे ।

आफ्नो भ्रमणपछि दुई देशबीचको सम्बन्धमा सकारात्मक परिणाम आउने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भएको भेटघाटले नेपालले भोग्दै आएको समस्या समाधानमा सघाउ पुग्ने बताए । “हिजोदेखि बाँकी रहेका विषय र वर्तमानका सम्भावनाका बारेमा राम्रो कुराकानी भयो”, उहाँले भन्नुभयो, “विदेशमन्त्री र विदेश सचिवसँगको छलफल पनि फलदायी रह्यो ।”

भारतमा रहँदा नेपाल–भारतबीच भएको १९५० सन्धि पुनरावलोकन, नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्ने, सीमा समस्या समाधान, डुबानसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान, व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा आफूले भारतीय राजनीतिक नेतृत्वसँग कुराकानी गरेको बताए ।

“नेपालको विकासका सम्भावना, अवसर र चुनौतीका बारेमा खुलेर कुराकानी भयो”, उनले भने, “रुसबाट कच्चा तेल सस्तोमा आउँछ, तपाईंहरुले त्यसबाट नेपाललाई दिने ढङ्गबाट सोच्नुभयो भने नेपाली जनतालाई सहयोग हुन्छ भन्ने विषयलाई मैले कुरा राखेँ ।”

आफूले नेपालको विकासका लागि भारतीय पक्षसमक्ष राखेको विषय छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । “म धेरै नै आशावादी र विश्वस्त भएर आएको छु, हामीले समस्याका रूपमा चित्रित गर्दै आएको विषय सकारात्मकरूपमा समाधान हुनेछन् ।”

नयाँ दिल्लीमा रहँदा उनले त्यहाँस्थित नेपाली समुुदायका प्रतिनिधिसँग अन्तरक्रिया गरेका थिए । उक्त अवसरमा नेपाली समुुदायका प्रतिनिधिले भारत सरकारले अखिल भारत नेपाली एकता समाजलाई लगाएको पोटा कानून खारेज गर्नुपर्ने, प्रवासी नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था गर्नुपर्ने र प्रवासी नेपालीहरुलाई सरकारले गर्ने विभेदपूर्ण व्यवहार सच्याउनुपर्ने लगायत विषय उठाएका थिए ।

शनिबार उनले भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेट गरी दुुई देशबीचका दुईपक्षीय हितका विषयमा कुुराकानी गरेका थिए । अध्यक्ष प्रचण्डले शनिबार नै फाउन्डेशन फर पब्लिक अवारनेस एन्ड पोलिसीको आयोजनामा नेपाल–भारत सम्बन्ध विषयमा आफ्ना विचार व्यक्त गरेका थिए ।

उनले नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा आरजु देउवासँग भेट भएको र अरु त्यस्तो केही कुरा नभएको बताए । तर, यो कुरालाई अतिरञ्जित बनाइएको भन्दै उनले गुनासो समेत गरे ।

प्रचण्डको सचिवालयले भारतको सदभावना भ्रमण सफलतापुर्वक सम्पन्न गरेर अध्यक्ष प्रचण्ड स्वदेश फर्किएको बताएको छ । भ्रमणको क्रममा प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाउएको र भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको उनको सचिवालयले दावी पनि गरेको छ ।

मोदीसँग के कारणले भेट भएन थाहा छैन

अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुनुको कारण आफूलाई थाहा नभएको पनि बताएका छन् । उनले मोदीसँग एक बजे भेट हुने भारतीय अधिकारीहरु भनेकोले भेट्न फेरि एयरपोर्ट जानुपर्ने भएकोले आफू निस्किएको पनि उनले बताए ।

तर होटेल जाने क्रममा अहिले सम्भव भएन भन्ने खबर अन्तिम समयमा आएर भेट हुन नसकेको पनि स्पष्ट पारे । प्रचण्डले भारतमा बाढीले जनधनको क्षति हुँदा प्रधानमन्त्री मोदी त्यसमा व्यस्त भएको कुरा अधिकारीहरुले सुनाएको पनि उल्लेख गरे ।

अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नभएको विषयमा अनभिज्ञता प्रकट गरेका हुन् । आफूहरूलाई मोदीसँग भेट हुन्छ भनिएको भए पनि पछि सम्भव भएन भन्ने कुरा आएको उनले बताए ।

“लास्ट आवरमा के कारणले भेट सम्भव भएन भन्ने मलाई पनि तपाईंहरूलाई जस्तै थाहा छैन । भारतमा बाढी आएर ठूलो जनधनको क्षति भएर प्रधानमन्त्री काममा व्यस्त भएर हो कि”, उनले भने, “पार्टी अध्यक्षले निम्ता दिएकाले अध्यक्षले भेटिसकेपछि हुन्छ भनेर हो । कारण मलाई पनि थाहा छैन ।” अध्यक्ष दाहाल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार भारत भ्रमणमा गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !