७ बैशाख २०८१, शुक्रबार

खानेपानी आयोजनाका लागि बजेट अभाव हुँदैन : वरिष्ठ नेता पौडेल


रामचन्द्र पौडेल फाइल फोटो

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन खानेपानी आयोजनामा बजेट अभाव नहुने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१३ स्थित छाब्दी पम्पिङ खानेपानी आयोजनाको ट्याङ्की निर्माण कार्यको आज निरीक्षण गर्दै वरिष्ठ नेता पौडेलले आयोजनामा बजेट अभाव हुन नदिने उल्लेख गरे । निर्धारित समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै पौडेलले आवश्यक परेको खण्डमा सङ्घीय र प्रदेश सरकारबाट बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गरे ।

कांग्रेसको नेतृत्वमा विकास निर्माणको कामले तीव्रता पाएको बताउँदै नेता पौडेलले आगामी दिनमा यस क्षेत्रको विकासमा आफ्नो सदैव सहयोग रहने बताए । निरीक्षणका क्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका–१३ का वडाध्यक्ष बसन्तबहादुर आलेको सहभागिता थियो ।

गण्डकी प्रदेश सरकारको रु पाँच करोड लागतमा ट्याङ्की निर्माण भइरहेको छ । क्रमागत योजनाअन्तर्गत हालसम्म रु तीन करोड बजेट प्राप्त भएको छ । ७० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष भरत थापाले जानकारी दिए । ट्याङ्की निर्माणपश्चात् पोखरीभञ्ज्याङका सात सय घरधुरीमा पानी वितरण गर्ने तयारी छ । त्यसका लागि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !