१३ बैशाख २०८१, बिहिबार

प्रमखु प्रतिपक्षी दल एमालेद्वारा प्रहरीलाई हतियार खरिदको औचित्य पुष्टि गर्न माग


खगराज अधिकारी फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपाल प्रहरीका लागि तत्काल हतियार खरिदको औचित्य पुष्टि गर्न प्रधानमन्त्री र गृहमन्त्रीसँग माग गरेको छ ।

प्रतिनिधि सभाको आजको बैठकको शुरुमा समय मागेर बोल्दै एमालेका सांसद खगराज अधिकारीले विदेशी मुद्राको संचितीमा कमी भइरहेको अवस्थामा वर्तमान सरकारले कमिशनकै लागि ईटालीको सबैभन्दा बदनाम कम्पनीसँग नेपाल प्रहरीको लागि म्याद गुज्रिएका हतियारहरु खरिद गर्न लागेको बताए ।

उनले हतियार खरिदको लागि ग्लोबल टेन्डर नै नगरी सरकारले मानव अधिकारलाई समेत ध्यान नदिई नेपाल प्रहरीका लागि घातक हतियार खरिद गर्ने प्रक्रिया अगाडि बढाएको भन्दै स्वयं प्रधानमन्त्रीले हतियार खरिदको लागि दुईदिन भित्र एलसी खोल्न दवाब दिईरहेको बताए ।

आफ्नो पदबाट राजीनामा दिए पछि पूर्व अर्थमन्त्रीले रकमान्तर गरेर हतियार खरिदको लागि बजेट निकासा गर्नु गम्भिर विषय भएको बताउँदै सांसद अधिकारीले प्रश्न गरे, ‘पुलिसले पाउने भनेको प्लाष्टिकको गोली हो । जनतालाई छर्रा हान्ने बन्दूक किन ल्याउनु पर्‍यो ?’

नेपाल प्रहरीले हतियारको माग नै नगरेको दाबी गर्दै पूर्वगृहमन्त्री समेत रहेको सांसद अधिकारीले बालुवाटारमा बोलाएर प्रहरीलाई बिज्ञप्ति निकाल्न बाध्य पारिएको पनि बताए ।

विगतमा मानव अधिकारवादी संस्थाहरुले समेत विरोध गरिसकको विषयलाई ध्यान नदिई सरकारले जनताको छातीमा प्वाल पार्ने खालको सर्टगन किन खरिद गर्नु पर्‍यो ? भनी पुनः प्रश्न गर्दै सांसद अधिकारीले संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले हतियार खरिदको औचित्य पुष्टि नगर्दासम्म आफूहरुको विरोध जारी रहने चेतावनी समेत दिए ।

सभामुखसँग समय मागेर बोल्दै सत्तारुढ दल नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक बजेट नपुग्दा ठूलाठूला र साना अस्पतालहरुमा समेत बीमितहरुले उपचार पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद विश्वकर्माले मुलुकको गर्भनर आफैंले अब नेपालको अर्थतन्त्र पनि श्रीलंकाकै बाटोमा जान लागेको भन्दै हिंड्नु गलत भएको बताउँदै शेयर मार्केटका साना लगानीकर्ताहरुलाई समेत हतोत्साहित पार्ने काम भइहेको बताएका छन् । सांसद विश्वकर्माले गर्भनरको यस्ताखाले भनाईहरुलाई लगाम लगाउन आवश्यक भएकाले सभामुख मार्फत रुलिङको माग समेत गरेका थिए ।

समय मागेर बोल्दै सत्तागठबन्धन दल नेकपा(माओवादी केन्द्र) की सांसद रेखा शर्माले कुनै पनि राजनीतिक दलको सदस्य नेपाल राष्ट्र बैंकको गर्भनर हुन नपाउने कानून, ऐन र नियममा समेत उल्लेख भएको बताउँदै गर्भनरको विषयमा गम्भिर ढंगले छानबिन गरी कारबाहीको माग गरेकी थिइन् ।

समय मागेर बोल्दै एमालेकी सांसद डा.शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद् विधेयक अदालतमा विचाराधीन रहेको र विगतमा प्रतिगामी भनिएकाले यसलाई तत्काल फिर्ता लिन सभामुख मार्फत सरकारसँग माग गरेकी थिइन् ।

विगतको केपी ओली नेतृत्वको सरकारले सोही प्रावधान सहित अध्यादेशको रुपमा ल्याउँदा स्वयं सभामुखले अदालतमा रिट हालेको र त्यसलाई असंवैधानिक भनिएकाले अब त्यही विधेकयलाई संसदमा कसरी छलफल गर्न मिल्छ ? भनी प्रश्न गर्दै सांसद तुम्बाहाम्फेले पुनः प्रश्न गरिन्, ‘पहिले प्रतिगमन भयो भन्ने अहिले के फरक छ र प्रतिगमन हैन भन्ने ?’

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले शुन्य समयमा समेत बोल्दै सभामुख मार्फत समसामयिक र जनसरोकारका विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

शुन्य समयमा बोल्दै नेकपा(माओवादी केन्द्र)की सांसद चाँदतारा कुमारीले एउटा कार्यक्रम मार्फत नेपाली सेनाका सेनापतिले नेपालको सीमानामा तारबार लगाउन पर्छ भनी अभिव्यक्ती दिनु गलत भएको बताएका थिइन ।

सेनाले कुनै राजनीतिक दल र व्यक्तिले जसरी अभिव्यक्ति दिन नमिल्ने भन्दै सेनापत्तिको उक्त भनाई प्रति आपत्ति प्रकट गरेकी थिइन् । एसपीपी चाहिँदैन भनेर छिटो पत्राचार गर्न सरकारसँग माग गर्दै सांसद कुमारीले नागरिकता विधेयकलाई छिटो पास आग्रह गरेकी थिइन् ।

शुन्य समयमा एमालेका सांसद कृष्णभक्त पोखरेलले स्वयं राष्ट्र बैंकका गर्भनरले आपूm कुनै पार्टीमा आबद्ध नभएको कुरा बताइसकेकाले अर्थमन्त्रालयमा भएको भ्रष्टाचारको बिषयलाई विषयान्तर गर्न आफ्ना सांसदहरुलाई यस बिषयमा बोल्न लगाइएको बताए ।

शुन्य समयमा सांसदहरु अन्जना बिशुंखे, अमृता थापा, इन्दुकुमारी शर्मा, कुमारी तुलसी थापा, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद दाहाल, कृष्णबहादुर राई, खगराज अधिकारी, गगनकुमार थापा, गजेन्द्रबहादुर महत लगायतले बोलेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !