४ बैशाख २०८१, मंगलबार

प्रतिपक्षी बेन्च खाली हुँदा सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित


सुदूरपश्चिम प्रदेशसभा

सुदूरपश्चिम । प्रतिपक्षी बेन्चमा प्रदेशसभाका सदस्यको अनुपस्थितिपछि सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठक कारबाही अघि बढ्न नसकी स्थगन गरिएको छ । बैठक प्रारम्भ भएपछि सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी बेन्चमा कुनै पनि सदस्यको उपस्थिति नरहेकाले आजको बैठक स्थगित गरिएको घोषणा गरे ।

प्रतिपक्षी नेकपा (एमाले), राष्ट्रिय जनता पार्टी (राजपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सदस्य बैठकमा अनुपस्थित रहेका थिए । सत्तापक्षीय बेन्चमा समेत सदस्यको उपस्थिति न्यून सङ्ख्यामा थियो ।

प्रदेश सरकारले पेस गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यक्रममा प्रतिपक्षका साथै सत्तापक्षकै सदस्यको असन्तुष्टिपछि पटक पटक बोलाइएको प्रदेशसभाको बैठक सञ्चालन हुन नसकी स्थगित हुँदै आएको छ ।

आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बजेटका विषयमा उठाइएका असन्तुष्टिलाई सम्बोधन गरी असार २८ गतेसम्म बजेट कार्यक्रम पारित गर्ने गरी सदनको कारबाही सञ्चालन गर्ने निर्णय भएकामा सरकारले त्यस्तो व्यवहार नदेखाएकाले आजको बैठकमा सदस्यहरु अनुपस्थित रहेको प्रदेशसभाका सदस्य भरतबहादुर खड्काले बताए ।

“सरकारले परामर्श समितिको बैठकमा असन्तुष्टि सम्बोधन गर्छौं भन्यो, तर गरेन”, परामर्श समितिका सदस्यसमेत रहेका सत्तापक्षीय नेपाली कांग्रेसका प्रदेशसभा सदस्य खड्काले भने । प्रमुख प्रतिपक्षी एमालेका सदस्य कृष्णराज सुवेदीले सदनमा भएको आफूहरुको अनुपस्थितिबारे संसदीय दलको नेताबाट जानकारी माग्न उचित हुने बताए ।

वित्तीय अनुशासन कायम नगरी ल्याइएको बजेट नीति कार्यक्रमअनुसारको सन्तुलित नभएको र बिचौलियासँग सेटिङ गरेर ल्याइएको असन्तुष्ट सदस्यको भनाइ छ । बजेट कार्यक्रममा क्रमागत योजना हटाइएको, योजनाको बाँडफाँट असमान ढङ्गले भएको जस्ता गुनासोसमेत सदस्यले गरेका छन् ।

बजेट कार्यक्रमलाई परिष्कृत नगरिएसम्म यथास्थितिमै प्रदेशसभामा छलफल अघि बढ्न नसकिने अडानमा असन्तुष्ट सदस्यहरु रहेका छन् । सहमति जुट्न नसक्दा यही असार १ गते सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रममाथि सदनमा अझै छलफल हुन सकेको छैन । असार मसान्तभित्र बजेट कार्यक्रम पारित गर्नुपर्ने कानूनी व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !