७ बैशाख २०८१, शुक्रबार

नेपाल प्रहरीलाई हतियार खरिद गर्ने निर्णय तत्काल फिर्ता होस् : एमाले सांसद सिलवाल


नवराज सिलवाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद नवराज सिलवालले नेपाल प्रहरीलाई हतियार खरिद गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको शुरुमै सभामुखसँग समय मागेर बोल्दै सांसद सिलवालले जेठ १४ गते राती अर्थ मन्त्रालयमा बिचौलिया छिराएर वर्तमान सरकारले करको दरमा हेरफेर गर्न लगाएको बिषयमा चर्को अवाज उठे पछि राजीनामा दिएर जाँदा जाँदै पूर्व अर्थमन्त्रीले रकमान्तर गरेर लाभ कमाउनकै लागि नेपाल प्रहरीलाई ८४ करोड रुपियाँको हतियार खरिद गर्ने निर्णय गरेर गएको बताए ।

मुलुकको शोधान्तर घटा बढिरहेको, बिदेशी मुद्राको संचितीमा ह्रास आइरहेको तथा अर्थतन्त्र समेत धरायशी भइरहेको अवस्थामा सरकारले प्रहरीलाई हतियार खरिद गर्ने निर्णय गरेर गम्भिर गल्ती गरेको बताउँदै सांसद सिलवालले नेपाल प्रहरीलाई अहिले हतियारको आवश्यकता नभई व्यारेक चाहिएको तथा प्रहरीलाई अनुसन्धानमा सबल बनाउनु आजको आवश्यकता रहेको स्पष्ट पारेका थिए ।

बिचौलीयाको चंगुलमा फसेर प्रचलित मूल्य भन्दा पनि दुई-तीनसय प्रतिशत भन्दा बढि मूल्य तिरेर हतियार किन्ने सरकारको निर्णय मुलुकको लागि राष्ट्रघात नै भएको उल्लेख गर्दै सांसद शिलवालले यस्तै हुँदै जाने हो भने नेपालका शासकहरुले पनि सिंहदरबार र बालुवाटार छोडेर भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिएका थिए ।

बिचौलीयको चंगुलमा फसेर बिगतको सरकारले गरेको यस्तै निर्णयको कारणले गर्दा नै सुडान घोटाला काण्डमा नेपाल प्रहरीका निर्दोष अधिकृतहरु जेल जान बाध्य भएको सांसद सिलवालको भनाई थियो ।

प्रतिनिधि सभाको सोमबारको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुले उभिएर बिरोध जनाए पछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसद सिलवाललाई बोल्न समय दिएका थिए ।

बैठकमा सांसदहरुले शुन्य समयमा बोल्दै सभामुख मार्फत समसामयिक र जनसरोकारका बिषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । शुन्य समय पश्चात् सभामुख सापकोटाले सांसदहरुले शुन्य, बिशेष र समय माग गरी बोलेको बिषयहरुमा गम्भिर हुन नेपाल सरकारलाई रुलिङ समेत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !