७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा र सीपीसीका विदेश विभाग प्रमुख लिउवीच बालुवाटारमा भेटवार्ता


शेरबहादुर देउवा र लिउ जियान्चाओ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ प्रतिनिधिमण्डल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेको छ । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेकोे मन्त्रालयले जनाएको छ ।

सीपीसीका विदेश विभाग प्रमुख लिउको चिनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणका सिलसिलामा आज बिहान साढे १० बजे काठमाडौं आइपुगेका हो । बालुवाटारमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, चिनियाँ राष्ट्रपतिको सन्देशबारे छलफल भएको बताइएको छ ।

शेरबहादुर देउवा र लिउ जियान्चाओ

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गरेपछि गत चैतको दोस्रो सातामा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेपछि भएको चिनियाँ पक्षको पहिलो भ्रमणलाई राजनीतिक वृत्तमा उच्च महत्वले विश्लेषण गरिएको छ । उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवादेखि प्रमुख दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !