७ बैशाख २०८१, शुक्रबार

नेताका नामका खुलेका ट्रस्ट र फाउण्डेसनमा ब्रह्मलुट भइरहेको छ : उपसभापति गुरुङ


धनराज गुरुङ् फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताका नाममा खुलेका ट्रस्ट र फाउण्डेसनका नाममा राज्यकोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको पुन: खुलासा गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उपसभापति गुरुङले कुनै पनि नेताहरुको नाममा खोलिएका ट्रस्ट र फाउण्डेसनका लागि राज्यको पैसा हाल्न नहुने बताएका छन् ।

गुरुङले श्रीलंकामा भएको घटनासँग जोड्दै नेताका नाममा खुलेका ट्रस्टमा बजेट लगानी गर्ने काम अहिल्यैबाट छोड्नुपर्ने बताएका छन् । उनले श्रीलंकामा भएको घटनाबाट अचेत नेताहरुको चेत खुल्नुपर्ने बताएका हुन् ।

नेपाली काँग्रेसकै नेता समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बाबुको नाममा ट्रस्ट खोलेर करोडभन्दा रकम छुट्याएको भन्दै आलोचना भइरहेका बेला गुरुङको यस्तो धारणा सार्वजनिक भएको हो ।

उनले सुशील कोइराला सभापति भएकै बेलाको केन्द्रीय समिति बैठकमा आफूले यो कुरा उठाएको स्मरण गराएका छन् । दक्षिण एसियाको छिमेकी श्रीलंका टाट पल्टिरहँदा पनि नेपाली नेताहरुको चेत नखुलेको भनेर उनी आक्रोशित भएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समितिको बैठकमा भनेको थिएँ–नेताहरुको नाममा खोलेको ट्रस्ट/फाउन्डेसनहरुमा राज्यकोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो । रोक्नु पर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !