१२ बैशाख २०८१, बुधबार

वाम-लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन आवश्यक छ : प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन आवश्यक रहेको बताएका छन् ।

आज आइतबार मुस्लिम समुदायको पर्व बकर इद (इद–अल–अधा) को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य र दीर्घायू सहित उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।

प्रचण्डले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएका छन् ।

उनले समाजका यिनै परम्परा, भाषा, धर्म र सँस्कृतिले पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेकोले यस प्रकारका चाडपर्वहरूको सम्वद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व पनि भएको उल्लेख गरेका छन् ।

उनले मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्तिहरु एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका हुन् ।

शुभकामना सन्देशमा प्रचण्डले जोड दिंदै भनेका छन्, ‘मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरुको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरु एकीकृत र केन्द्रीकृत हुन जरुरी छ ।’

उनले यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समून्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गरोस् भन्दै हार्दिक शुभकामना व्यक्त गरेका पनि छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !