१३ बैशाख २०८१, बिहिबार

प्रचण्डका छोरी, बुहारी, भाइ र स्वकीय सचिवसमेत माओवादीको पोलिटब्युरो सदस्य


रेनु दाहाल, बिना मगर, नारायण दाहाल र रमेश मल्ल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो सदस्यको संख्या १५६ जना पुर्‍याउने प्रस्ताव गरेका छन् । यसअघि प्रचण्डले प्रस्ताव गरेका १२५ सदस्यमा ३१ जना वैकल्पिक पोलिटब्युरो सदस्य थपेर १५६ जना पुर्याउने प्रस्ताव गरेका हुन् ।

अध्यक्ष प्रचण्डले घोषणा गरेको पोलिटब्युरो सदस्यहरुमा आफ्ना छोरी, बुहारी, भाइ र स्वकीय सचिवलाई समेत समेटेका छन् । पोलिटब्युरो सदस्यहरुमा प्रचण्डकी छोरीसमेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रतिनिधि सभा सदस्यसमेत रहेकी बुहारी बिना मगर, राष्ट्रिय सभा सदस्य रहेका भाइ नारायण दाहाल र स्वकीय सचिव रहेका रमेश मल्ल रहेका छन् ।

यसअघि पहिलो दिनको बैठकमा अर्की छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई उनले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । परिवारवाद हाबी भएको भन्दै पार्टी नेता कार्यकर्ताले दाहालको आलोचना गर्दै आएका छन् ।

हिजो सदस्यहरूको नाममा विवाद भएपछि बैठक एक घण्टा स्थगित गरिएको थियो । पोलिट्ब्युरो सदस्यको नामको मापदण्ड नपुगेको, केही नेताहरु छुटेको भन्दै केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि बैठक स्थगित गरिएको थियो ।

तर के मापदण्डका आधारमा नाम प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरुले विरोध गरेका थिए । यद्यपि प्रचण्डले पढेका कतिपय नाम दोहोरिएका पनि थिए ।

अध्यक्ष प्रचण्डले पोलिट्ब्युरो सदस्यको नाम संसोधनसहित पुन: प्रस्ताव गरेका थिए । उनले आफ्नो खराव नियत नभएको समेत स्पष्टीकरण दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !