११ बैशाख २०८१, मंगलबार

यी हुन् जसपाबाट बन्न लागेका नयाँ मन्त्री, कित्ता फेर्दा दुईले पाए मन्त्री पद उपहार


इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । जसपाले शेरबहादुर देउवा सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ तीन जनाको नाम सिफारिस गरेको हो ।

जसपाले कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाएको छ । यद्यपि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले भने निरन्तरता पाएका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले हिजो आइतबार साँझ प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको बुझिएको छ । नयाँ मन्त्रीका लागि सिफारिस हुनेमा प्रदीप यादव, इस्तियाक राई र मृगेन्द्र सिंह छन् । यादवलाई वन, राईलाई भौतिक पूर्वाधार र सिंहलाई कृषि मन्त्रीमा सिफारिस गरिएको छ ।

यस अघिदेखि नै अध्यक्ष यादवसँग असन्तुष्ट रहँदै आएका दुई सांसदले कित्ता परिवर्तन गर्दा मन्त्री पद उपहार पाएका छन् । जसपा स्रोतका अनुसार नयाँ मन्त्रीको रुपमा सिफारिस गरिएका इस्तियाक राई र प्रदीप यादवले हालसालै मात्र कित्ता परिवर्तन डा. बाबुराम भट्टराईतिर ढल्केका थिए ।

पछिल्लो समय जसपामा यादव र भट्टराईबीच शक्ति संघर्षले उग्ररुप लिएर शीतयुद्ध चलिरहेका बेला दुबैले डा. भट्टराईलाई साथ दिएका थिए । भट्टराई निकट स्रोतका अनुसार अध्यक्ष यादव नसच्चिएमा बाबुरामलाई साथ दिएर नयाँ पार्टी खोल्नुपर्नेमा दुवैले मत राख्ने गरेको बुझिएको छ ।

कृषि मन्त्रीको रुपमा सिफारिस राष्ट्रिय सभा सदस्य रहेका सिंह अध्यक्ष यादवनिकट नै रहेको बुझिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई फुटबाट जोगाउन मन्त्री फेरबदल गरेर चलाखी अपनाएका छन् । डा. बाबुराम भट्टराई पक्षमा जान लागेका नेताहरूलाई यादवले आफ्नो पक्षमा ल्याएर नयाँ मन्त्रीका लागि सिफारिस गरेका हुन् ।

जसपाभित्र ६ महिनाका लागि मन्त्री पठाइएको भन्दै पहिलेदेखि फिर्ता बोलाउनु पर्ने माग भइरहेको थियो । अध्यक्ष यादवले मन्त्री फिर्ता बोलाउन नखोजेको भन्दै चर्को विरोध पनि भएको थियो ।

अध्यक्ष यादवले प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीको नाम बुझाएतापनि शपथका लागि भने अझसम्म जानकारी गराइएको छैन । तथापि नयाँ मन्त्रीहरुको सपथ सम्भवत: आज वा नभए भोलि हुनसक्ने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !