७ बैशाख २०८१, शुक्रबार

हत्या आरोपमा अछामको पञ्चदेवल नगरपालिकाकी मेयर नै पक्राउ परेपछि…


अम्बिका चलाउने

धनगढी । हत्या आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही हत्याकाण्डमा संलग्न भएको आरोपमा मेयर चलाउने पक्राउ परेकी हुन् ।

विनोदको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर चलाउनेसहित अन्य एक जनालाई हिजो शनिबार पक्राउ गरिएको जनाएको छ । प्रहरी विशेष स्रोतका अनुसार मेयर चलाउनेलाई काठमाडौंमा पक्राउ गरेर अछाम ल्याइएको हो ।

विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो ।

किटानी जाहेरीमा भएका ५ जना यसअघि नै पक्राउ परिसकेकोले उक्त घटनामा अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या ७ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय अछाम स्रोतका अनुसार मेयर चलाउनेको नाममा पनि किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई बोलाएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने जनाएको छ ।

गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब ३ घण्टा मतदान रोकिएपछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !