७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्न आयोगलाई प्रधानमन्त्री देउवाको आग्रह


बालुवाटारमा प्रधानमन्त्री देउवा निर्वाचन आयुक्तसंग

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच हिजो शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री देउवाले मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेका हुन् ।

आयोगका प्रमुख आयुक्त थपलियाले प्रधानमन्त्रीसँग भेट भएको जानकारी दिँदै निर्वाचन समयमै गर्न प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिए । आयोगले कात्तिक मसान्तमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई अनौपचारिक प्रस्ताव गरेको छ ।

यसअघि आयोगले मङ्सिर पहिलो सातासम्म निर्वाचन गरिनसक्नुपर्ने बताउँदै आएको थियो । निर्वाचनसम्बन्धी कानुन पेस गर्ने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले बिहीबार मात्र आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका थिए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !