८ बैशाख २०८१, शनिबार

एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरुको शपथ आज हुँदै


जीवनराम श्रेष्ठ, मेटमणी चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र हिराचन्द्र केसी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नवनियुक्त ४ मन्त्रीहरु र १ राज्यमन्त्रीको शपथ आज हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो साँझ नेकपा (एकीकृत समाजवादी) बाट नयाँ ४ जना मन्त्रीहरु र १ जना राज्यमन्त्री नियुक्त गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिइन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका ५ जना नयाँ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् हेरफेर गरिएको थियो ।

राष्ट्रपति कार्यालयले हिजो आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको थियो । राष्ट्रपति कार्यालयकाका अनुसार नव नियुक्त मन्त्रीहरूको शपथ सोमबार बिहान गराउने तयारी भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गतवर्ष २०७८ असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा आज हेरफेर गरेकी थिइन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री देउवाको सिफारिसमा मन्त्री र राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकासमन्त्रीमा मेटमणी चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भवानी खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई मन्त्री नियुक्त गरिएको छ ।

नेकपा (एस) ले देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो ।

गत जेठ २२ गते आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई भने स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव गरिएअनुसार खापुङ मन्त्री बनेका हुन् । एकीकृत समाजवादीले मन्त्रीहरूलाई ६ महिना भनेर पठाइएको र ६ महिनाभन्दा बढी भएकाले उनीहरुलाई सरकारवाट फिर्ता बोलाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !