१२ बैशाख २०८१, बुधबार

पोखराको नगरसभा एमालेद्वारा बहिष्कार, बजेट प्रस्तुत हुन सकेन


पोखरा महानगरपालिका

पोखरा । पोखरा महानगरपालिकाको नगरसभा नेकपा (एमाले) ले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । पोखरा सभागृहमा साँझ ४ः०० बजे उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै विरोध गरेपछि बजेट प्रभावित भएको हो ।

एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले आफूहरूको अधिकार कुण्ठित गर्ने गरी बजेट पुस्तिका प्रकाशन गरिएको भन्दै नाराबाजीसहित सभा बहिष्कार गरेपछि महानगर प्रमुख धनराज आचार्यले केही समयका लागि सभा स्थगन गरेका छन् ।

एमालेका तर्फबाट दलका नेता राधिका योगी शाहीले आज बजेट पेश गर्ने र रातो किताब नगर सदस्यले छलफलपछि मात्र ल्याउने बिहीबार सहमति भए पनि छलकपट गरेर पुस्तिका ल्याइएपछि बहिष्कार गरिएको बताए ।

उनले भने, “नगरसभा सदस्यहरूको अधिकार हनन गरेर रातो किताब निकालिएको छ । यसमा नगरका योजना समावेश छैनन्, त्यसैले हामीले बहिष्कार गरेका छौँ ।”

महानगर प्रमुख आचार्यले भने बजेट कार्यक्रमको मस्यौदा (ड्राफ्ट) मात्र तयार गरिएको र बजेट पुस्तिका प्रकाशित नगरिएको दाबी गरे । उनले विषयगत समितिमा भएको छलफलको अन्तिम रूप दिन बाँकी रहेकाले संशोधन गर्ने गरी हाललाई मस्यौदा मात्र बनाइएको बताए ।

उनले भने, “लिजा (स्थानीय तह स्वमूल्याङ्कन प्रणाली) मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको हो । रातो किताब छापेका छैनौँ ।”

एमालेबाट निर्वाचित सदस्यहरूले नगरसभा बहिष्कार गरेर बजेट रोकिएपछि महानगर प्रमुख आचार्यले सहमतिका लागि छलफल सुरु गरिएको बताउनुभयो । सहमति गरेर आजै बजेट प्रस्तुत गरिने आचार्यले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !