१३ बैशाख २०८१, बिहिबार

प्रचण्डद्वारा फेरि एक पटक प्रधानमन्त्री हुने चाहना प्रकट


प्रचण्ड फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना प्रकट गरेका छन् ।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल पर्वतारोहण संघले आशीर्वाद दिएको प्रसंग स्मरण गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् ।

प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा सपना हो कि जस्तो लागेको बताएका छन् । उनले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुँदा झिलिमिलीमा नै कार्यकाल बितेको सुनाए । यद्यपि दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै कुरा सुधार गरेकोदावी गर्दै मधेसलाई पनि विश्वासमा लिएर निर्वाचनमा जाने कुरा सानो नभएको बताए ।

उनले छिमेकीसँगको सन्तुलित बनाएर सहयोग जुटाउने कुरा ठूलै भएको बताए । उनले अर्कोपटक नेतृत्व गर्ने अवसर पाउने भए देशलाई नयाँ युगमा लैजाने सपना रहेकोसमेत सुनाए । उनले विरोध गर्नेहरुको हातमा डाडुपन्यु हुने विडम्बनासमेत रहेको गुनासो गरे ।

प्रचण्डले देशमा आजको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरूमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए । उनले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दाे माध्यम भएको बताए ।

उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्व पनि दिने, विकास पनि दिने, सामाजिक न्याय पनि दिने भन्ने सपना सफल नभएको बताए ।

मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दो माध्यम भएको भन्दै प्रचण्डले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !