१२ बैशाख २०८१, बुधबार

मुलुकमा परिवर्तन ल्याउन टंक प्रसादको योगदान महत्वपूर्ण छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले टंक प्रसाद आचार्यले तत्कालिन समयमा छर्नुभएको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन् । टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् ।

“मुलुकमा परिवर्तन ल्याउन टंक प्रसादले छरेको पर्चाको योगदान महत्वपूर्ण रहेको छ”, उनले भने । आचार्यले गठन गरेको नेपाल प्रजापरिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेकोसमेत उनले बताए ।

उनले टंक प्रसाद आचार्यको विचार र सङ्गठनले विसं २००७ को क्रान्ति भएको धारणासमेत व्यक्त गरे । “टंक प्रसाद आचार्यलाई २००७ सालको क्रान्ति लगत्तै मुलुकको नेतृत्व दिइन्थ्यो भने उनले परिकल्पना गर्नुभएको मुलुक बन्दथ्यो”, उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताए । उनले भने, “देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।”

उनले प्रजापरिषद् नामेट पार्न एमालेमा गाँभेको नभई उद्देश्यलाई अमर राख्नका लागि एकता गरिएको बताए । “प्रजा परिषद्का उद्देश्य अमर रहेका छन् । ती बाँचिरहन्छन्”, उनले भने । प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टङ्कप्रसाद आचार्यले छरेको पर्चाले मुलुकमा राजनीतिक जागरण आएको बताए ।

टंक प्रसाद आचार्यले राणा शासनको विरोधमा विसं १९९७ असार ९ गते भोटो देखाउने जात्राका दिन चारवटा पर्चा छरेका थिए । सोही दिनको सम्झनामा पर्चा दिवस मनाउने गरिन्छ । यसैबीच सोही कार्यक्रममा अरविन्द रिमाल र डा. महेश्वर शर्मालाई जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल गठनमा पुर्याएको योगदानस्वरुप सम्मान गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !