८ बैशाख २०८१, शनिबार

मन्त्री हेरफेरबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै 


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा रहेका शिर्ष  नेताहरुको बैठक बस्दै छ । आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बालुवाटार स्रोतले बताएको छ ।

आज बस्न लागेको बैठकमा मन्त्रिपरिषद् हेरफेरबारे छलफल हुने बुझिएको छ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले गत जेठ २२ गते पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको थियो । आज बस्न लागेको गठबन्धनको बैठकमा समाजवादीका मन्त्री हेरफेरबारे निर्णय लिइने बुझिएको छ ।

नेकपा (एस) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सरकारवाट फिर्ता बोलाउने निर्णय यसअघि नै गरिसकेपनि बजेट पारित नभएको अवस्थामा उनीहरुको पद थमौती भएको थियो ।

एकीकृत समाजवादीको सचिवालय बैठकले ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई भने स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव गरिएको थियो । पार्टीको निर्णयसँगै एकीकृत समाजवादीले ४ जना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएर अव अन्य नेतालाई सरकारमा पठाउने प्रस्ताव गरेको थियो ।

नेकपा (एस) को सचिवालय समितिको निर्णयअनुसार एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने प्रस्ताव गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !