६ बैशाख २०८१, बिहिबार

नेपाल कुनै पनि हालतमा एसपीपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण


बालकृष्ण खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले हाल चर्चामा रहेको अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम(एसपिपि)मा नेपाल कुनै पनि हालतमा संलग्न नहुने स्पष्ट पारेका छन् ।

गृहमन्त्री खाणले एसपीपी कार्यक्रममा नेपाल आबद्ध नभएको दाबी गर्दै सरकारले यस सम्बन्धमा कुनै निर्णय नगरेको तथा त्यस्तो निर्णय गर्ने सोच पनि नराखेको बताए ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउबाको तर्फबाट बिनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जावफ दिंदै गृहमन्त्री खाणले नेपालको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा संविधानमा व्यवस्था भए अनुसार नेपाल सरकारले काम गरिरहेको बताए ।

उनले नेपाल र अमेरिका बीच पहिलेदेखि नै सद्भावना भ्रमण जारी रहेको र दैनिक सहयोग आदानप्रदान भइरहेको तथा यस अघिका भ्रमण र सहयोग विगतको निरन्तरता मात्र भएको बताए ।

स्पष्टीकरणको जवाफमा भने गृहमन्त्री खाँणले विगतमा एमसीसी सम्झौता सहमती मै पास भएको बताउँदै एमसीसी कुनै सैन्य परियोजना नभई विकास परियोजना भएको भन्ने सोचका साथ नै अघि बढाइएको तथा पछि व्याख्यात्मक टिप्पणीका साथ पास गरिएको बताए ।

गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको विषयमा अहिलेसम्म सुनिश्चित भइनसकेको सदनमा जानकारी गराउँदै कार्यतालिका बनेपछि सदनलाई जानकारी हुने बताए ।

गृहमन्त्री खाणले द्रुतमार्ग निर्माणका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै अन्य सडक भन्दा काठमाडौँ–तराई मधेश द्रुत मार्ग सडक पृथक रहेको तथा अहिलेसम्म १९ दशमलव ८३ प्रतिशत प्रगति भएको सदनलाई जानकारी दिए ।

नेपाली सेनाले पेशागत जिम्मेवारीसहित कठिन क्षेत्रमा ३२ सडक निर्माण गरेको भन्दै उनले चालु आर्थिक वर्षमा काठमाडौँ तराइ मधेश द्रुत मार्ग लगायत कठिन भूभागमा रहेका पाँच वटा ठुला आयोजनामा सेनाले निर्माण कार्य गरिरहेको बताए ।

नेपाली सेनाले आफ्नो पेशागत जिम्मेवारी सहित कठिन भूमिमा ३२ वटा सडक निर्माण गरिसकेको पनि गृहमन्त्री खाणले जानकारी दिए ।

सेनालाई राष्ट्रिय सुरक्षा विकास निर्माण, विपद व्यवस्थापन, विश्व शान्ति, पर्यावरणीय सुरक्षा, महामारी नियन्त्रण जस्ता जिम्मेवरीका साथै भौतिक पूर्वाधार लगायतमा काममा बजेट विनियोजन भन्दै गृहमन्त्री खाणले विपद व्यवस्थापनको सन्दर्भमा चालू आ.ब.मा सेनाले ४ हजार २०४ जनाको खोज तथा उद्धार गरेको बताए ।

उनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता भौगिलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताका लागि संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेना रहने भन्ने कुरा रहेकाले समावेशी बनाउने प्रक्रिय शुरु भएको जानकारी दिए ।

नेपाली सेनालाई थप व्यवसायिक बनाउनुपर्ने विषयमा आएको सुझाव सकारात्मक रहेको बताउँदै उनले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ नेपाली सेनाको भूमिका प्रशंसनीय रहेको बताए ।

राष्ट्रिय सुरक्षा प्रतिरक्षालगायतका सन्दर्भमा अध्ययन अनुसन्धानको व्यवस्था गरी सुरक्षा क्षेत्रको जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापनका लागि पुर्वाधार निर्माण विकास समिति निर्माण गरी प्रक्रिय अघि बढाइएको पनि गृहमन्त्री खाणले सदनलाई जानकारी दिएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिएका थिए भने प्रधानमन्त्री शेरबहादुर देउबाको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, एवं उपराष्ट्रपतिको कार्यालय माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !