११ बैशाख २०८१, मंगलबार

विश्वप्रकाशले भने- अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपिपी हामीलाई स्विकार्य छैन

समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य : महामन्त्री शर्मा


विश्वप्रकाश शर्मा फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले अमेरिकालाई नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपिपी) सम्झौता हामीलाई स्विकार्य छैन भनेर प्रष्ट रुपमा भन्नुपर्ने बताएका छन् ।

काँग्रेस महामन्त्री शर्माले सामाजिक संजाल ट्वीटरमा लेख्दै काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकालाई एसपिपी सम्झौता स्वीकार गर्न नसक्ने भनेर प्रष्ट रुपमा भन्नै पर्ने बताएका हुन् ।

उनले एसपिपी सम्झौता वारेमा आफ्नो पार्टी काँग्रेसको धारणा यहि बन्ने भन्दै काँग्रेस नेतृत्वको सरकारले सोही धारणा प्रतिनिधित्व गर्ने जनाएका छन् l उनले समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य हुने साझा ढंगले प्रष्ट हुनुपर्ने बताएका छन् ।

नेपाललाई अमेरिकाले एसपीपीमा सहभागी हुनका लागि प्रस्ताव पठाएको विषय संचारमाध्यममा सार्वजनिक भएपछि सोले नेपालको राजनीति थप तातेको छ । संसद र सडकमा सो विषयमा बृहत तर्फ-वितर्क सुरु हुनुको साथै विज्ञहरुले यस्तो सम्झौतामा नेपाल जान नहुने र नेपाललाई ठूला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धा पर्न सक्ने भन्दै सोबाट जोगिन सुझाव दिएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले हिजो नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही दस्तावेज असत्य भएको स्पष्टीकरण दिएको थियो ।अमेरिकी दूतावासले आज मंगलबार राती सामाजिक संजाल फेसबुक पेजमा पोष्ट गर्दै नेपाल र अमेरिकावीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चार माध्यममा प्रकाशित दस्ताबेज असत्य भएको जिकिर गरेको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा आज सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा उनले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए भने पनि आफूले नमान्ने स्पष्ट पारेका हुन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपिपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गरेका छन् । उनले यस विषयमा भ्रममा नरहन पनि सबैमा स्पष्ट गरेका छन् ।

साथै मन्त्री कोइरालाले सो सम्झौताका लागि कुनै पक्ष या सरकारले आग्रह नगरेको पनि स्पष्ट पारे । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का शीर्षकमाथि सो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्का प्रश्नको जवाफ दिँदै उनले सो कुरा स्पष्ट गरेका हुन् ।

यद्यपि अमेरिकी दूतावास, प्रधानमन्त्री देउवा र कानूनमन्त्री कोइरालाले नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सैन्य सम्झौता नभएको दाबी गरेतापनि काँग्रेसकै महामन्त्री शर्माको यस्तो धारणा बाहिर आएको हो ।

यो पनि पढ्नुहोस्

सहमति बिना कुनै पनि सम्झौतामा हस्ताक्षर हुँदैन : प्रधानमन्त्री देउवा

कानूनमन्त्रीको स्पष्टोक्ति : एसपिपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन

नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने दस्तावेज असत्य हो : अमेरिकी दूतावास


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !