७ बैशाख २०८१, शुक्रबार

वलीको विषयलाई लिएर एमालेद्वारा लुम्बिनी प्रदेशसभा अवरोध, बजेट पेस हुन सकेन


लुम्विनी प्रदेशसभा

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री बिमला वलीको विषयलाई लिएर नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरोध गरेको छ ।

एमालेले मन्त्री वलीको घटनाबारे सरकारले जवाफ दिनुपर्ने भन्दै एमालेले प्रदेश सभाको बैठक अवरोध गरेपछि बैठक स्थगित भएसंगै प्रदेशसभामा आर्थिक वर्ष २०७९/८० को बजेट पेस हुन सकेको छैन ।

आज दिउसो ४ बजेका लागि बोलाइएको बैठक सुरु हुनै लाग्दा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वलीको विषयमा सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने बताउदै एमालेले अवरोध गरेपछि बजेट प्रस्तुतका लागि बसेको बैठक २५ मिनेटका लागि स्थगित भएको हो ।

सभामुख पूर्ण घर्तिले जवाफका लागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । आफैँ महिला मन्त्री भएको समयमा नै महिला तथा बालबालिकामाथि भएको हातपातको संरक्षणमा सरकार लागेको भन्दै एमालेले यसको जवाफ नआएसम्म संसद चल्न नदिने अडान लिएको हो ।

एमालेले सो विषयमा सरकारको प्रतिक्रियाको प्रतिक्षा गरेपनि यो विषयमा सरकारले केही नबोलेको भन्दै एमालेका सांसदहरु रुष्ट भएका हुन् । यस्तै आज मात्र राज्यमन्त्री वलीमाथि छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले आन्तरिक मामला तथा संचारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको हो ।

हिजो मंगलबार बिहान तुलसीपुर-५ बसपार्क निवासी मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै पीडितले जाहेरी दिएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !