७ बैशाख २०८१, शुक्रबार

नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने दस्तावेज असत्य हो : अमेरिकी दूतावास

सैन्य सम्झौताको दस्तावेजका वारेमा मुख खोल्यो अमेरिकी दूतावासले


नेपालस्थित अमेरिकी दूतावास

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही दस्तावेज असत्य भएको स्पष्टीकरण दिएको छ ।

अमेरिकी दूतावासले आज मंगलबार राती सामाजिक संजाल फेसबुक पेजमा पोष्ट गर्दै नेपाल र अमेरिकावीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चार माध्यममा प्रकाशित दस्ताबेज असत्य भएको जिकिर गरेको हो ।

अमेरिकी दूतावासले नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सामेल हुन नभन्ने तर कुनै देशबाट सोका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्ने बताएको छ ।

एसपीपी अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदान-प्रदान कार्यक्रम भएको अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग पनि अमेरिकी दूतावासले बताएको छ ।

अमेरिकी दूतावासका अनुसार २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश भएकामध्ये अधिकांश देशहरू यस क्षेत्रमा नभएको जानकारी दिएको छ ।

आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्‌को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धाररकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहने भन्दै यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम भएको अमेरिकी दूतावासले दावी गरेको छ ।

नेपाललाई अमेरिकाले एसपीपीमा सहभागी हुनका लागि प्रस्ताव पठाएको विषय संचारमाध्यममा सार्वजनिक भएपछि सोले नेपालको राजनीति थप तातेको छ । आज मंगलबार दिनभर सो विषयमा विज्ञहरुले यस्तो सम्झौतामा नेपाल जान नहुने र नेपाललाई ठूला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धा पर्न सक्ने भन्दै सोबाट जोगिन सुझाव दिएपछि आज राती दूतावासले आफ्नो भनाइ सार्वजनिक गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !