७ बैशाख २०८१, शुक्रबार

जिल्लामा महिला मन्त्रालयको सम्पर्क कार्यालय आवश्यक छ : महिलामन्त्री रेग्मी


प्रतिनिधिसभा

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रालयले पालिकामा पठाइएको बजेट कार्यान्वयनको खबरदारी गर्न पनि जिल्ला तहमा मन्त्रालयको सम्पर्क कार्यालय आवश्यक भएको बताएकी छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम तथा बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री रेग्मीले अरू मन्त्रालयहरुका जिल्ला कार्यालय यथावत् रहेकामा महिला मन्त्रालयको मात्रै कार्यालय खारेजी गरिएको बताइन् ।

सम्पर्क गर्न तल्लो तहमा कार्यालय नहुँदा धेरै कुरा कठिनाइ आइरहेको उनले बताइन् । गत वर्ष रु ८० करोड बजेट पालिकामा पठाइएकामा रु १६ करोड फ्रिज भएको उनको भनाइ थियो । उनले भनिन्, “उनीहरुको प्राथमिकतामा परेन र फ्रिज भयो, त्यो हर्न हाम्रो पनि कार्यालय छैन ।”

जिल्लाबाट प्रमुख जिल्ला अधिकारी र महिला अधिकारकर्मी विभिन्न जिल्लाका महिलालाई समस्या गुनासो गर्ने ठाउँ सिंहदरबार नै भएको मन्त्री रेग्मीले बताइन् । सङ्घीयता लागू भएप्छि अरू मन्त्रालयका जिल्लास्थित कार्यालय यथावत् रहेकामा महिला मन्त्रालयको हत्त न पत्त खारेज हुँदा कार्यान्वयमा चुनौती आएको उनले बताइन् ।

आगामी आवमा महिलाको व्यक्तिगत घटना दर्ता र नेतृत्व विकास गर्ने कुरालाई अघि बढाइने बताउनुभएको छ । मन्त्री रेग्मीले तल्लोस्तरबाट नै महिलाको क्षमता विकास गरेर माथि उठाउनुपर्नेमा जोड दिइन् ।

स्थानीय तहमा विगतको निर्वाचनमा उपप्रमुख निर्वाचित भएका महिला अहिले प्रमुख उम्मेदवार र निर्वाचित भएको उनले बताइन् । ‘महिला पहिला’ कार्यक्रमले तल्लो तहसम्म छुन सक्नुपर्ने उनको भनाइ छ । घरमूलीदेखि राज्यको प्रमुख बनाउन महिला पहिला कार्यक्रम आएको उनको भनाइ छ ।

अहिले पनि धेरै महिलाले नागरिकता नपाएको, सन्तानको जन्मदर्ता हुन नसकेको र विवाह दर्ता हुन नसकेको मन्त्री रेग्मीले बताइन् । श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो हुँदासम्म समस्या केही नभए पनि विवाद भएपछि श्रीमान्ले बच्चा होइन भनेपछि महिलालाई सङ्कट पर्ने गरेको उनले बताइन् । उनले भनिन्, “जन्म, मृत्यु र विवाह दर्ता समयमा नै हुन सक्दा नागरिकताको समस्या पनि कम हुनेछ ।”

लैङ्गिक हिंसा निवारण कोष तत्काल उद्धारका लागि र एकल महिलाका जीविकोपार्जनका लागि कार्यक्रम रहेको उनले बताइन् । बजेटमा हुँदा खाने वर्गलाई लक्षित गरेर राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनीहरुका लागि सीपमूलक तालिम दिइने र पूँजीमा सहयोग गरेर उद्यमी बन्न सक्ने कुरा उल्लेख भएको उनले बताइन् ।

सेनेटरी प्याडमा आयकर छुट दिने विषयमा आफू पनि सहमत नभएको मन्त्री रेग्मीले बताइन् । देशभित्रै प्याड उत्पादन गर्नेलाई मेसिनरी र कच्चा पदार्थमा छुट दिन भनेको भए पनि त्यो कुरा बजेटमा नआएको उहाँले बताइन् ।

सडक बालबालिका र जोखिमपूर्ण काममा रहेका बालबालिका उद्धार र स्वास्थ्य उपचारका लागि बजेट मन्त्रालयमा छुट्याइएको मन्त्री रेग्मीले स्पष्ट पारिन् । सिंहदरबारमा शिशु स्याहार केन्द्र स्तरोन्नतिसँगै विराटनगर र नेपालगञ्ज बालसुधार गृहमा स्तरोन्नति गर्न बजेट छुट्याइएको उनले जानकारी दिइन् ।

ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दायरा फराकिलो बनाएर धेरै नागरिक लाभान्वित हुने अपेक्षा गरिएको मन्त्री श्रेष्ठले बताइन् । अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी हरेक प्रदेशमा अपाङ्गता ग्राम निर्माणलाई तीव्रता दिइएको छ । पूर्ण अपाङ्गता आवासीय व्यवस्था गर्दै पुनःस्थापना गर्न बजेट विनियोजन गरिएको छ ।

मन्त्रालयअन्तर्गतको समाज कल्याण परिषद्का लागि आगामी आवका लागि बजेट नछुट्याइएको उनले बताइन् । परिषद् नयाँ ढाचाँमा जान खोज्दा बजेट नदिइएको उनको भनाइ छ । आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा राजदूतहरु लाम लागेर वर्षौंदेखि अड्किएको परियोजना खुला गर्न आएको भन्दै उनले आफू आएपछि नै रु ७५ अर्बको योजना स्वीकृत गरेको जानकारी दिइन् ।

परिषद्को स्वामित्व रहेको भृकुटीमण्डप अहिले फोहर फाल्ने ठाउँ भएकाले त्यसलाई आगामी आवमा व्यवस्थित गरिने मन्त्री रेग्मीले बताइन् । यहाँको भाडालाई टेन्डर गरेर समायानुकूल बनाइने उहाँले बताइन् । परिषद्को कार्यालय व्यवस्थित बनाउने उनको भनाइ छ ।

प्रतिनिधिसभाको अर्काे बैठक मङ्गलबार ११ बजे बस्नेछ । बैठकमा बाँकी मन्त्रालयका विषयमा सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !