१२ बैशाख २०८१, बुधबार

काठमाडौँको फोहर तत्काल उठाउन एमालेको माग


कृष्णगोपाल श्रेष्ठ फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले लामो समयदेखि काठमाडौँमा दुर्गन्ध र फोहरले राजधानीवासी आजित भइसकेको भन्दै तत्काल समाधान खोज्न आग्रह गरे ।

उनले भने, “काठमाडौँको कुनै सडक, गल्लीको फोहर उठेको छैन । जताततै फोहरको डङ्गुर बनिसक्यो, त्यसैले तत्काल फोहर उठ्नुपर्छ र समस्या समाधान हुनुपर्छ ।”

सांसद श्रेष्ठले सिसडोल र बञ्चरे डाँडाका जनप्रतिनिधिबीच सहमति भए पनि फोहर फाल्न नदिने प्रवृत्ति दोहोरिएको भन्दै त्यहाँका जनताको माग सम्बोधन गर्न माग गरे । उनले फोहर नउठे अब काठमाडौँका जनता चुप लागेर नबस्ने भन्दै फोहर व्यवस्थाापनका लागि बल प्रयोग गरेर नभई सहमति र समझदारीका साथ समाधान खोजिनुपर्नेमा जोड दिए । सांसद श्रेष्ठले काठमाडौँको फोहर नउठेको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै तत्काल फोहर उठ्छ कि उठ्दैन सभामुखमार्फत रुलिङ गर्न माग गरे ।

यस्तै सांसद यज्ञबहादुर बोगटीले अछामका विनोद शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिएको भन्दै विद्यार्थी मारिँदा पनि राजनीतिकरण भएको आरोप लगाए । अछाम प्रशासनले हत्याका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत उनले सरकारको ध्यानाकर्षण गराए ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !