११ बैशाख २०८१, मंगलबार

प्रतिनिधिसभाको बैठक सुरु : आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल हुँदै


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा केही समयअघि सुरु भएको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको हो ।

प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको बारेमा मन्त्रालयगत छलफल सुरु भएको हो । बजेट बारेको सैद्धान्तिक छलफल सकिएपछि मन्त्रालयगत छलफल सुरु भएको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको पहिलो नम्वरमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै, दैनिक कार्यसूचीको दोस्रो नम्वरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

दैनिक कार्यसूचीको तेस्रो नम्वरमा विनियोजन विधेयक, २०७९ अन्तर्गत केही मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।

संसद सचिवालयले मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीहरूलाई जवाफ दिन दुई दिनको समय उपलब्ध गराउने भएको छ । जवाफ दिने दिन यही २६ र २७ जेठ तोकिएको छ ।

मन्त्रीहरूको जवाफपछि बजेट पारित हुने छ । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ मा संसद्मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

यस्तो छ हेर्नुस् आजको प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची

प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !