७ बैशाख २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री ओली र प्रधानमन्त्री देउवाले दिएको प्रेरणाले थप उर्जावान बनाएको छ : बालेन


बालेन साह केपी शर्मा ओली र शेरबहादुर देउवासंग

काठमाडौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको प्रेरणाले आफ्नो समूहलाई थप उर्जावान बनाएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै बालेनले भेटघाटका क्रममा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवाले दिएको प्रेरणाले आफ्नो समूहलाई थप उर्जावान बनाएको जानकारी दिएका हुन् । साहले काठमाडौँको विकासको लागि आफ्ना लक्ष्यहरु विशाल र पवित्र भएकोले आम मान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता पर्ने भएकोले यसका लागि सबैसँग सहकार्य अनिवार्य रहेको बताएका छन् ।

उनले आफू स्वतन्त्र उम्मेदवार भएर काठमाडौँको मेयरमा विजयी भएकोले राजनैतिक रुपमा आफूलाई काठमाडौँको विकास गर्ने अभियानमा केहि सजिलो पनि भएको स्पष्ट पारेका छन् । उनले स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिदा मात्रै नभएर कुनै पनि पार्टी वा समुह वा नेताप्रति निरपेक्ष रहनु पनि भएकोले सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि भएको बताएका छन् ।

उनले काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि आफूले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका भन्दै यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने बताएका छन् । उनले समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्ने भन्दै यसलाई अन्यथा नबुझिदिन अपिलसमेत गरेका छन् ।

मेयर साहले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवालाई भेटेका हुन् भने काठमाडौँ महानगरपालिकाको मेयरको मतगणना भईरहेका समयमा मेयरका स्वतन्त्र उम्मेदवार भएका साहले आफ्नो जित सुनिश्चित भएपछि बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका थिए ।

आजको भेटमा प्रधानमन्त्री देउवाले महानगरको प्रमुखमा विजयी भएकोमा साहलाई बधाई दिँदै महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् । देउवाले बालेनलाई चमत्कार गरेर काठमाडौँको मेयरमा विजय भएकोमा आफू खुशी हुनुको साथै ५ वर्षको कार्यकालमा सरकार र काँग्रेसको पूर्ण समर्थन रहने बताउँदै काठमाडौँ महानगरको विकासको लागि आफूलाई २४ घण्टा नै सम्पर्क सक्ने आश्वाशन समेत दिएका छन् ।

यस्तै ओलीले साहलाई मेयर उपमेयरमा दुवैजना युवाहरुले विजयी हासिल गर्दै गरेकोले यहाँको आवश्यकतालाई पहिचान गरेर अघि बढ्न र ‘युवाहरुलाई भाइब्रेट क्रिएट गर्ने काम’ गर्न अध्यक्ष ओलीले बालेनलाई सुझाव दिएको बालकोट स्रोतले बताएको थियो । काठमाडौं महानगरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर साहले ओलीसंग केही सुझाव मागेको बालकोट स्रोतले बताएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !