११ बैशाख २०८१, मंगलबार

प्रचण्डको स्विकारोक्ति : बालेन र हर्कले दलहरूलाई सबक सिकाए


प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर नवनिर्वाचित मेयरहरू काठमाडौँ महानगरपालिकाका बालेन साह र धरान उपमहानगरपालिका हर्क साम्पाङले राजनीतिक दलहरूलाई सबक सिकाएको स्विकार गरेका छन् ।

माओवादी केन्द्रले आज कमलपोखरीस्थित पूरानो कुमारी हलमा आफ्ना २६० नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले काठमाडौंका बालेन र धरानका हर्कले दलहरूलाई सबक सिकाएको बताएका हुन् ।

यद्यपि प्रचण्डले स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा नपर्न आग्रह गर्दै स्वतन्त्र उम्मेदवारको जित अपवादमात्रै भएको उनले जिकिर गरे । उनले काठमाडौं र धरानमा स्वतन्त्रले जिते पनि जनकपुरदेखि धनगढीसम्मका सबै पार्टीकै प्रतिनिधिले जितेको टिप्पणी गरेका छन् ।

काठमाडौं र धरानका मात्रै वास्तविक स्वतन्त्र भएको उनीहरूले माओवादी जस्तै एजेण्डा उठाएर सफलता हात पारेको प्रचण्डको तर्क छ । बालेन र हर्कले माओवादीले जस्तो कुरा गरेकोले जनताले मत दिएर जिताएको बताए । हिजो माओवादीले जनताको सेवा गर्ने, जनताका लागि खानेपानी, फोहोर मैला व्यवस्थापन, शोषण, विभेद र अन्याय अत्याचार अन्त्य गरेको दावी गरे ।

बालेन र हर्कले माओवादी जस्तै कुरा गरेकाले जनताले मत दिएको भन्दै उनीहरुले खानेपानी, फोहोरमैला व्यवस्थापनको विषय जस्ता पहिलाको माओवादीकै एजेण्डा उठाएको जिकिर गरे । उनले जनताको सेवाका लागि समर्पित हुनका लागि राजनीतिक दलहरुलाई यो एउटा सबक भएकोले नकारात्मक ढंगले लिनुको केही अर्थ नहुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !