४ बैशाख २०८१, मंगलबार

बजेटको भण्डाफोर गर्दै संसदमा खरो भएर उत्रिन एमालेले बनायो रणनीति


एमाले संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको बजेटको भण्डाफोर गर्न रणनीति तय गरेको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि गठबन्धन सरकारले ल्याएको बजेटबारे गहनतम छलफल गर्न एमालेको नयाँवानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले भोलिदेखि संसदमा खरो भएर उत्रिने रणनीति तय गरेको हो ।

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै सरकारले संसदमा प्रस्तुत गरेको विषयमा भोलिदेखि सामान्य छलफल सुरु हुने भएकोले बजेटको बारेमा आफ्ना संसदलाई खरो भएर तर्कसंगत रुपमा प्रस्तुत हुन एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको उनले बताए ।

एमालेले राष्ट्रिय योजना आयोगका ३ जना पूर्वउपाध्यक्षहरु डा. युवराज खतिवडा, प्रा. डा. पुष्पराज कँडेल, डा. दिनेशचन्द्र देवकोटालाई विज्ञको रुपमा बोलाएर देउवा सरकारले ल्याएको बजेट बारेमा छलफल गरेर संसदमा पार्टीको के धारणा राख्ने भन्ने सम्वन्धमा आफ्ना संसदलाई जानकारी दिएको हो ।

यसैगरी एमालेले अन्य दुई पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल र सुरेन्द्र पाण्डेलाई पनि विज्ञको रुपमा आमन्त्रण गरेर संसदहरुलाई प्रशिक्षण गर्दै वर्तमान चुनावी सरकारले चुनावलाई प्रभावित पार्ने वितरणमुखी बजेट ल्याएको निष्कर्ष निकाल्दै आगामी ५ महिनासम्म मात्र आयू भएको सरकारले ल्याएको बजेटको जिम्मेवारी कसले लिने र कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा आफ्ना संसदलाई जानकारी पनि दिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले हिजो आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतवार संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए । सो बजेटमाथि पार्टीको धारणा बनाउन बैठक डाकिएको थियो । आइतवार बजेट आएपछि एमाले उपाध्यक्ष विष्णु पौडेल र सांसद खगराज अधिकारीसहितले मतदाता फकाउन गठबन्धन सरकारले कनिका छरेको आरोप लगाएका थिए ।

एमाले संसदीय दलको बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !