७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय सभाद्वारा ८ अध्यादेश स्वीकृत


राष्ट्रिय सभा

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले विभिन्न ८ वटा अध्यादेशलाई स्वीकृत गरेको छ ।

बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’,‘सामाजिक सुरक्षा(पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश, २०७८’लाई स्वीकृत गरेको छ ।

त्यसैगरी, बैठकले ‘औषधि(तेस्रो संशोधन) अध्यादेश, २०७९’,‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९’,‘रेल्वे अध्यादेश, २०७८’,‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ तथा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’लाई पनि स्वीकृत गरेको छ ।

बैठकमा प्रहरी, सामाजिक सुरक्षा र तेजाब सम्बन्धी अध्यादेशलाई स्वीकृत गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँडले छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए भने ‘औषधि(तेस्रो संशोधन) अध्यादेश, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९’लाई स्वीकृत गरियोस्् भनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङको तर्फबाट उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा रेल्वे अध्यादेशलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको तर्फबाट पनि आपूर्तिमन्त्री बडुले नै स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

आपूर्तिमन्त्री बडुले नै कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा(कोईराला)को तर्फबाट फौजजारी कसूर र यौन हिंसा सम्बन्धी अध्यादेशलाई स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाको सोमबारको बैठकले यी ८ वटै अध्यादेशलाई सर्वसम्मतीले स्वीकृत गरेको हो ।

यसैबीच, राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले विशेष समयमा बोल्दै समसामयिक विषयमा अध्यक्ष मार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

विशेष समयमा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सफलता पूर्वक सम्पन्न गराएकोमा सरकारलाई धन्यवाद गरेका थिए ।

विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद भैरव सुन्दर श्रेष्ठले सरकारले ७ महिनाको अवधिमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए । उनले छिमेकी मुलुक भारतमा समेत महंगीको मारमा परेका जनताका लागि सरकारले सहुलियत प्रदान गरिरहेको बताउँदै प्रश्न गरे,‘यो देशमा अहिले सरकार छ या छैन ?’ ।

त्यसैगरी, विशेष समयमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले अहिले महँगी अत्यधिक बढको बताउँदै आवधिक निर्वाचन समेत महँगो बन्दै जानु दुःखद् भएको बताए । उनले बलात्कार सम्बन्धी कानूनमा रहेको हद म्यादको कारणले गर्दा समस्या देखिएका भए तापनि अपराधीहरुलाई कानूनी कठघरामा ल्याउनै पर्ने बताए ।

नेकपा(एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले कुनै पनि महिलाहरु अहिले सुरक्षित छैनन् भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गर्दै गईरहेको बताउँदै नेपाल सबै भन्दा धेरै महिला हिंसा तथा बलात्कार हुने देशको रुपमा संसारमा चिनिने हो कि भनी चिन्ता व्यक्त गरेकी थिइन् ।

उनले कानूनलाई संशोधन गरेर भए पनि ८ वर्ष अगाडि बलात्कारको शिकार बनेकी पीडितलाई न्याय दिनु पर्ने बताइन् । विशेष समयमा स्वतन्त्र सांसद खिमलाल देवकोटाले बलात्कार र जघन्य अपराधमा हद म्याद सम्बन्धीको व्यवस्थालाई हटाउनु पर्ने धारणा व्यक्त गर्दै अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा यसपालिको निर्वाचनमा महिला उम्मेदवारको संख्या नै कम भएको बताए ।

उनले राजनीतिक दलहरु प्रति जनताको बितृष्णाले गर्दा नै अहिले मुलुकभर स्वतन्त्र उम्मेदवारहरुको उदय हुन लागेको जिकिर गर्दै संविधानमा नै कार्यकाल सकिने अन्तिम वैशाखको तेस्रो साता भित्र आवधिक निर्वाचन हुनुपर्ने राय व्यक्त गरेका थिए ।

विशेष समयमा नेकपा(एमाले)की सांसद भगवती न्यौपानेले बलात्कार सम्बन्धि कानूनमा रहेको हदम्याद सम्बन्धी व्यवस्थालाई संशोधन गर्न जरुरी रहेको बताएकी थिइन् ।

विशेष समयमा सांसदहरु जगप्रसाद शर्मा, नारायण दत्त मिश्र, डा.विमला राई पौड्याल, उदयबहादुर बोहराले, हरिराम चौधरी र सुमित्रा विसीले बोलेका थिए ।

बैठकको अन्त्यमा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि मंगलाबार अपरान्ह ४ बस्ने संघीय संसदको संयुक्त बैठकलाई राष्ट्र विद्यादेवी भण्डारीले सम्बोधन गर्दै नेपाल सरकारको तर्फबाट प्रस्तुत हुने वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले सबै सांसदहरुलाई निर्धारित समय भित्रै आशन ग्रहण गरिसक्न निर्देशन समेत दिएका थिए । राष्ट्रिय सभाको अर्को बैठक भोलि जेठ १० गते साँझ ६ बजेका लागि डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !