१३ बैशाख २०८१, बिहिबार

गृहमन्त्री खाणसँग अमेरिकी उपमन्त्री जियासँग शिष्टाचार भेट


बालकृष्ण खाण र उज्रा जिया

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी सहयोग र सम्बन्धका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । साथै नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५औँ वर्षका अवसरमा दुई देशबीचका विकास साझेदारी एवं सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

गृहमन्त्री खाणले भूकम्पछिको पुनःनिर्माण र कोभिडको रोकथाम तथा नियन्त्रणमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद व्यक्त गरे । गृहमन्त्री खाणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्र्दै विश्वमा स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रका क्षेत्रमा अमेरिकाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे ।

साथै यस भेटका क्रममा नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगका लागि मन्त्री खाणले अमेरिकी सरकारप्रति आभार व्यक्त गरेका थिए ।

उपमन्त्री जियाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ नेपाल सरकार अग्रसर भएकामा अमेरिकी सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् । त्यस अवसरमा उपमन्त्री जियाले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी पनि दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !