७ बैशाख २०८१, शुक्रबार

पोखराको प्रमुखमा गठबन्धनका आचार्य र उपप्रमुखमा एमालेकी गुरुङको कायमै कायमै


धनराज आचार्य र मञ्जुदेवी गुरुङ

कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख चार हजार २१२ मतगणना सकिएको छ ।

पोखरामा आज दिउँसो १ः०० बजेसम्मको मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा(एकीकृत समाजवादी) का धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

आचार्य अहिलेसम्म ३ हजार ३९५ मतले अघि छन् । आचार्यले ४१ हजार ७०५ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी नेकपा(एमाले) का कृष्णबहादुर थापाले ३८ हजार ३१० मत ल्याएका छन् ।

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा(एमाले) का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४३ हजार ६१६ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४१ हजार ९२० मत रहेको छ । उपप्रमुखमा एक हजार ६९६ मतान्तर छ ।

वैशाख ३० गतेको निर्वाचनमा पोखरामा १ लाख ४३ हजार २२६ मत खसेको थियो । महानगरका ३३ वडामध्येमा अहिले वडा नं १०, ११, १६, १७, १८, १९, ३९, ३० र ३१ नं को मतगणना भइरहेको छ । गणना बाँकी रहेका वडामा २१, २२, ३२ र ३३ नं रहेका छन् । हालसम्म २० वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !