६ बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभाको बैठकबाट ८ अध्यादेश स्वीकृत


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठकले विभिन्न ८ वटा अध्यादेशलाई स्वीकृत गरेको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले ती ८ वटा अध्यादेशलाई स्वीकृत गरेको हो ।

बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’,‘सामाजिक सुरक्षा(पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश, २०७८’लाई स्वीकृत गरेको छ ।

त्यसैगरी, बैठकले ‘औषधि(तेस्रो संशोधन) अध्यादेश, २०७९’,‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९’,‘रेल्वे अध्यादेश, २०७८’,‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ तथा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’लाई पनि स्वीकृत गरेको छ ।

बैठकमा प्रहरी, सामाजिक सुरक्षा र तेजाब सम्बन्धी अध्यादेशलाई स्वीकृत गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँडले छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए भने नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन,सुरपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई बैठकको बहुमतले र बाँकी दुई अध्यादेशलाई सर्वसम्मतीले स्वीकृत गरेको हो ।

‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९’लाई स्वीकृत गरियोस् भनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको तर्फबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवनीप्रसाद खापुङ्गले प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त दुबै प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको हो ।

बैठकमा रेल्वे अध्यादेशलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव र फौजजारी कसूर र यौन हिंसा सम्बन्धी अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए । ती तीनवटै प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको हो । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १० गते साँझ ६ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !