१३ बैशाख २०८१, बिहिबार

अहिले चर्चामा रहेको बलात्कारको घटनाको छानविन गर्न सभामुख सापकोटाद्वारा रुलिङ


अग्नि प्रसाद सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अहिले चर्चामा रहेको बलात्कारको घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारको नाममा रुलिङ गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख सापकोटाले ८ वर्ष अगाडि एउटा सुन्दरी प्रतियोगिताका आयोजकले सहभागि एकजना किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएकाले सो घटनाका सन्दर्भमा छानबिनको लागि रुलिङ गरेका हुन् ।

केही दिन अगाडि एकजना महिलाले सामाजिक संजाल मार्फत ८ वर्ष अगाडि आफू एउटा सुन्दरी प्रतियोगितामा सहभागि हुँदा बलात्कारको शिकार हुन परेको कुरा सार्वजनिक गरे पछि अहिले सामाजिक संजाल र आम जनतामा ठूलो चासो र चिन्ताको विषय बनेको छ ।

सभामुखले रुलिङ गर्नुपूर्व प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सो बलात्कारको घटनाको छानविनको लागि सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधि सभामा तीनदिनसम्म चलेको प्रिबजेट सम्बन्धी छलफलमा भाग लिने क्रममा सांसद थापाले आज यो विषयलाई प्रवेश गराएका हुन् । सांसदहरुले आज पनि आगामी बजेटको सिद्धान्त र प्राथमिकताका सन्दर्भमा दलीय आधारमा आ-आफ्नो धारणा राखेका छन् ।

प्रिबजेट माथिको आजको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद राजेन्द्रप्रसाद गौतमले वर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीको राजनीतिक दल र सिद्धान्त नै फरक हुँदा सरकारद्वारा प्रस्तुत आगामी बजेटको सिद्धान्त र प्राथमिकता स्पष्ट र दूरदर्शी नभएको आरोप लगाएका छन् ।

अर्थतन्त्रमा तस्करीतन्त्र हावी भएको, कालो धनलाई शुद्धिकरण गर्ने बाटो खोलेको आरोप लगाउँदै सांसद गौतमले सरकारद्वारा नयाँ बजेटको सिद्धान्त र प्राथमिकता दिशाहिन, लक्ष्यहिन र गन्तव्य नै नभएको बताए ।

उनले आन्तरिक उत्पादनलाई बढाउने र आयातलाई प्रतिस्थापन गर्ने कुनै नीति नभएको बताउँदै सरकारले सुपारी र मरिचको आयातलाई खुल्ला गरेर गलत गरेको बताए । विदेशी मुद्राको संचिती कम भएको बेलामा सरकारले नेपाली सेनालाई हेलिकोप्टर र प्रहरीलाई हतियार खरिद गर्ने तयारी गरेको भन्दै सांसद गौतमले महंगी र भ्रष्टाचार अत्यधिक बढ्दा समेत सरकार मौन बस्नु दुःखद् भएको बताए ।

छलफलमा भाग लिंदै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले निर्वाचन क्षेत्रका लागि बजेट र लोकप्रिय नाराका पछाडि नलागी अल्पकालीन र दिर्घकालीन योजना बनाएर उद्योग धन्दाका लागि नीति बनाउनु पर्नेमा जोड दिए ।

उनले नेपालकै जुत्ता कारखानाहरुबाट नेपालीहरुको जुत्ताको मागलाई अधिक सम्बोधन गर्न सकिने भएकाले नेपाली जुत्ता उत्पादनलाई प्रोत्साहित गनुको साथै उक्त उद्योगहरुमा नेपाली श्रमिकहरुको मात्रालाई बढाउन सकेको खण्डमा मुलुकलाई ठूलो फाईदा हुने जिकिर गरे ।

सांसद थापाले नेपालमा लत्ताकपडाको आयातमा कुनै कमी नआएको तर अधिकांश लत्ताकपडा चोरीको बाटोबाट नेपाल भित्रिने हुँदा यसबाट प्राप्त हुने राजश्व भने न्यून रहेको बताए ।

छलफलमा पूर्व अर्थमन्त्री समेत रहेको सत्तासाझेदार दल नेकपा(माओवादी केन्द्र) का सांसद वर्षमान पुनले तथ्यांकलाई हेर्ने हो भने विगतको तुलनामा अहिले केही मात्रामा भए पनि निर्यात बृद्धि भएको बताउँदै कृषि क्षेत्रमा मात्र तत्काल आयात प्रतिस्थापन हुन सक्ने अवस्था रहेको जिकिर गरे ।

उनले नेपाली विद्युतको निर्यातमा बृद्धि भैरहेको दावी गर्दै बढि हुँदा बेच्ने र कम हुँदा किन्ने नीति नै सबै भन्दा राम्रो भएको बताए । भान्सामा प्रयोग हुने ग्यासलाई विद्युतले प्रतिस्थापन गर्न सके पनि ठूलो व्यापार घाटाबाट जोगिन सकिने उनको भनाई थियो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको गत मंगलबारको बैठकमा ‘आ.ब.२०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरे पछि संसदमा छलफल शुरु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !