१३ बैशाख २०८१, बिहिबार

वीरगञ्ज महानगरमा गठबन्धनका सिंहको दोब्बर मतको अग्रता


राजेशमान सिंह र विजयकुमार सरावगी

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगी नौ हजार ५०४ मतसहित उनीसँग प्रतिस्र्धामा छन् ।

महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मत परिमाण आउन बाँकी छ ।

पर्सामा कूल १४ पालिका छन् । तीमध्ये केही पालिकाको मतपरिणाम निम्न छन् :

बहुदरमाई नगरपालिका

बहुदरमाई नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सिंगासन साह तेली निर्वाचित भएका छन् । तेलीले ६ हजार चार मत पाएकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शिवप्रसाद पटेलले पाँच हजार ६५८ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुख पदमा एमालेकी उम्मेदवार सुस्माकुमारी कुशवाहा निर्वाचित भइन् । छ हजार ४४० मतका साथ कुशवाह उपाध्यक्षमा पदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सोनामती देवी यादवले पाँच हजार ५२५ मत प्राप्त गरे ।

पोखरिया नगरपालिका

यस नगरपालिकाको नगर प्रमुख पदमा एमालेका उम्मेदवार प्रद्युम्न चौहान विजयी भएका छन् । चौहानले पाँच हजार ३२४ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवं निवर्तमान प्रमुख दीपनारायण रौनियारले तीन हजार १२१ मत प्राप्त गरे ।

यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार रुवीकुमारी ठाकुर पाँच हजार १९५ मतका साथ विजयी बने । उनका निकटतम प्रतिस्पर्धी रेहना खातुनले तीन हजार ९२९ मत प्राप्त गरिन् ।

विन्दवासिनी गाउँपालिका

विन्दवासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार प्रमोद तिवारी विजयी बनेका छन् । तिवारीले चार हजार १४१ मत ल्याएर विजयी प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विवेक चौरसिया तीन हजार ४६८ मत हासिल गरे ।

त्यस्तै उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार ज्योतिदेवी चौरसिया विजयी भएकी छन् । चौरसियाले दुई हजार ३६६ मत ल्याएर विजयी बनिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिता चौरसियाले दुई हजार २८७ मत प्राप्त गरे ।

पकहामैनपुर गाउँपालिका

यस गाउँपालिकाको अध्यक्ष पदमा कांगे्रसका उम्मेदवार सुरेशप्रसाद मेहता निर्वाचित भएका छन् । मेहताले चार हजार ६८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं जसपाका उम्मेदवार विजयकुमार चौरसियाले दुई हजार ५२९ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सरफुन नेशा चार हजार १४१ मतसहित निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले एक हजार ८७२ मत प्राप्त गरिन् ।

जिराभवानी गाउँपालिका

जिराभवानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी निर्वाचित भएका छन् । चौधरीले चार हजार ५६० मत गरे । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष एवं एमालेका उम्मेदवार रामप्रीत महतोले तीन हजार २९९ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्ष पदमा पनि कांग्रेसकी उम्मेदवार रेखा चौधरी विजयी बनेकी छन् । चौधरीले चार हजार ७१० मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष एवं एमालेकी उम्मेदवार उषा देवी थरुनीले दुई हजार ९६५ मत प्राप्त गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !