१२ बैशाख २०८१, बुधबार

डोटीमा मतगणना सकियो : ७ मा कांग्रेस र १/१ पालिकामा एमाले तथा माओवादी विजयी


एमाले तथा माओवादी

डोटी । डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस पहिलो बनेको छ । जिल्लाका नौवटा स्थानीय तहमध्ये नेपाली कांग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो मतले पराजित भएको छ ।

पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो । यसपटक पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपककुमार विष्टले ३७ मतले मात्रै हार बेहोर्नुभएको छ भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पराजित भएका छन् ।

उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जीत हासिल गरेको छ भने नेकपा (एमाले) १९ वडामा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) चार वडामा विजयी भएको छ भनेसँगै मिलेर चुनाव लडेको नेकपा (एकीकृत समाजवादी) ले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ । एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । केआईसिंह गाउँपालिका–७ मा राप्रपाले जीत हात पारेको हो ।

यसैगरी दिपायल सिलगढी नगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएको राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेका थिए ।

नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख÷उपप्रमुख दिपायल सिलगढी नगरपालिका– प्रमुख : बाजिसिं खड्का ‘विजय’, उपप्रमुख : कल्पना साउद, शिखर नगरपालिका–प्रमुख : दीर्घबहादुर बलायर, उपप्रमुख : सुनिता रावल, पूर्वीचौकी गाउँपालिका–अध्यक्ष : रामप्रसाद उपाध्याय, उपाध्यक्ष : पशुपतिदेवी खड्का, बडिकेदार गाउँपालिका– अध्यक्ष : भैरवबहादुर साउद, उपाध्यक्ष : डम्मरीकुमारी बिष्ट, आदर्श गाउँपालिका– अध्यक्ष : गणेशबहादुर खड्का, उपाध्यक्ष : लक्ष्मी रोकाय, सायल गाउँपालिका–अध्यक्ष : धर्मराज जोशी, उपाध्यक्ष : निर्मला बोहरा ओली, केआईसिंह गाउँपालिका– अध्यक्ष : लोकेन्द्रबहादुर शाही, उपाध्यक्ष : मीनादेवी विष्ट रहेका छन् ।

यसैगरी नेकपा एमालेले जितेको पालिका तथा प्रमुख–उपप्रमुख जोरायल गाउँपालिका–अध्यक्ष : दुर्गादत्त ओझा, उपाध्यक्ष : जमुना बोहरा रहेका छन् भने नेकपा माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिका–अध्यक्ष : कमल गड्सिला तथा उपाध्यक्षमा विष्ना देउवा बम (नेपाली कांग्रेस) बाट विजयी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !