७ बैशाख २०८१, शुक्रबार

विराटनगरमा कांग्रेसका कोइरालाको ४ हजार बढीको अग्रता


नागेश कोइराला र सागर थापा

विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले चार हजार ८३५ मतले अग्रता लिएका छन् । यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव प्रतिस्पर्धीसँग ६ हजार ७३७ मतले पछाडि रहेका छन् ।

मुख्य निर्वाचन कार्यालयका अनुसार महानगर प्रमुखका उम्मेदवार कोइरालाले १९ हजार १७३, नेकपा एमालेका सागर थापाले १४ हजार ३३८, स्वतन्त्र उम्मेदवार उमेश यादवले छ हजार १८७ र राप्रपाका प्रल्हादप्रसाद साहले तीन हजार ७०८ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेकपा (एमाले)को शिल्पा निराला कार्कीले १६ हजार ५५२, गठबन्धन दलतर्फका यादवले नौ हजार ८१५, राप्रपाको विन्दाकुमारी लुइँटेल आचार्यले चार हजार ४९३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले तीन हजार ५४९ मत प्राप्त गरेका छन् ।

यसैबीच विराटनगर महानगर वडा नं १५ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश साह एक हजार ८९७ मत ल्याई निर्वाचित भएका छन् । महानगरमा अहिले वडा नं ३, ४, ५, ६, ८, ११, १२ र १४ को मतगणना भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !