७ बैशाख २०८१, शुक्रबार

भट्टराईले मतदान गरेको केन्द्रका अधिकृतलाई पनि आयोगले सोध्यो स्पष्टीकरण


भट्टराईलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेको मतदान केन्द्रका अधिकृतलाई पनि स्पष्टीकरण सोधेको छ ।

भट्टराईले स्थानीय तह निर्वाचनमा गोरखाको पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका थिए । आयोगले भट्टराईसहित गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृत प्रदीपकुमार रुपाखेतीलाई पनि स्पष्टीकरण सोधेको हो ।

मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा. भट्टराईसँग स्पष्टीकरण माग गरेको थियो । भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

डा. भट्टराईले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको कसूर गरेका भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

डा. भट्टराईले आज बिहान मतदान गर्ने क्रममा गोप्य मतदान गर्ने ठाउँबाट निर्वाचन चिह्नमा छाप लगाएको फोटो खिचेर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !