१३ बैशाख २०८१, बिहिबार

मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू


शान्ति सुरक्षा व्यवस्था

विराटनगर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ ।

यो योजना निर्वाचन अघि र निर्वाचन पछिसम्म पनि लागू रहने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । उहाँले निर्वाचन लक्षित सुरक्षाको सबै प्रबन्धको तयारी पूरा भएकोसमेत जानकारी दिए ।

निर्वाचनलाई सुरक्षित, भयरहित एवं मर्यादित बनाउन लागू भएको एकीकृत सरक्षा योजनाअनुसार मोरङ निर्वाचनमा सुरक्षाकर्मीका तीनवटै निकाय जनपद, सशस्त्र र अनुसन्धान तथा कर्मचारी गरी १३ हजार ६७ जना जनशक्ति परिचालन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जसमा नेपाल प्रहरीका एक हजार ९७२, सशस्त्र प्रहरीका ६८६, राट्रिय अनुसन्धानका ५० र म्यादी प्रहरी तीन हजार १२४ छन् भने अन्य राष्ट्रसेवक कर्मचारी छन् । निर्वाचन सुरक्षामा नेपाली सेनाका टोली पनि परिचालित भएको छ ।

जिल्लामा ३०० मतदानस्थल तथा ८०० मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने गरी बनाइएको एकीकृत सुरक्षा योजना अन्तर्गत प्रमुख जिल्ला अधिकारीको अगुवाईमा चार वटा अलग्गै सुरक्षा टोली परिचालन हुने र विशेष अवस्थामा सुनसरीको इटहरीबाट हेलिकप्टरबाट हवाई सुरक्षाको प्रबन्ध पनि मिलाइएको प्रजिअ दाहालले बताए ।

नाका बन्द

यसैगरी, सोही सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने सूचना जारी गरेको छ । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न मोरङ जिल्लासँग सिमाना जोडिएका नेपाल भारत सीमा नाका बन्द हुने प्रजिअ दाहालले एक सूचनामार्फत जानकारी दिएका छन् ।

दाहालका अनुसार निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव बाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रेलियम पदार्थ बोकेको गाडी आवतजावत् गर्न नाकामा दिएपनि ३० गते नाकाबाट एम्बुलेन्स र दमक बाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको छ ।

मदिरा निषेध

यसैगरी, सोही सन्दर्भमा जिल्लामा मादकपदार्थ बिक्री वितरण एवं सेवन निषेध गएिको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई प्रभावित हुन नदिन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ), गृह मन्त्रालय निर्वाचन सेलको आदेश बमोजिम सो व्यवस्था गरिएको हो ।

आज राति १२ बजेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङभर मादकपदार्थको ओसारप्रसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको हुँदा उल्लेखित क्रियाकलाप नगरी, आदेशको पालना गरी सहयोग गर्न हुन सबैलाई अपिल गरिएको छ । यो आदेश बर्खिलाप भएको पाइएमा कानुन बमोजिम कारबाही हुने प्रजिअ दाहालले सूचनामार्फत जानकारी दिएका छन् ।

मोरङका १७ वटै स्थानीय तहमा विभिन्न पदमा कूल चार हजार ३४६ जनाले उम्मेदवारी दिएका छन् । जसमा पालिका प्रमुखमा ७४, उपप्रमुखमा ७०, गाउँपालिका अध्यक्षमा ६०, उपाध्यक्षमा ४८, वडाध्यक्षमा ९६२, सदस्यमा एक हजार ६४०, महिला सदस्यमा ७७० र दलित महिला सदस्यमा ७२२ जनाको उम्मेदवारी परेको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मोरङमा दर्ता भएका कूल राजनीतिक दलको सङ्ख्या ३९ छन् । तर, उम्मेदवारी फिर्तालगायतका कारण हाल निर्वाचनमा २२ वटा दल सहभागी छन् । मोरङमा कूल मतदाता सङ्ख्या सात लाख १५ हजार २२३ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !