१३ बैशाख २०८१, बिहिबार

पोखरा पुगेर ओलीले भने- धाँधली हुनसक्छ, मतपत्र जोगाउन चनाखो बन्नू


केपी शर्मा ओली फाइल फोटो

पोखरा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा धाँधली हुनसक्ने संकेत गर्दै गठबन्धनका सबैखाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने बताएका छन् ।

कास्कीको पर्यटकीय नगरी पोखरामा आज एमालेले आयोजना चुनावी सभा सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा धाँधली हुनसक्ने भएकोले मतपत्र जोगाउन चनाखो बन्नुपर्नेमा पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनलाई लक्षित गरेर एमालेले पोखराको अमरसिंह चौरमा गरेको चुनावी सभामा बोल्दै ओलीले पाँच दलीय गठबन्धनले जनताको भोटबाट जित्ने सम्भावना कम भएतापनि मतपत्र च्यात्न सक्ने भन्दै गणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई मतदान सम्पन्न भएसक्ने बित्तिकै बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन नहुने बारेमा सचेत गराएका हुन् । ओलीले एमाले शान्तिको पक्षमा रहेको र शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा रहेको भएपनि परिणाम नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क समेत गर्न नहुने बताएका हुन् ।

ओलीले गठबन्धनले भोटले जित्ने नभई मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेको आरोप समेत लगाए । ओलीले चितवनको भरतपुरमा यसअघिको स्थानीय निर्वाचनमा यस्तै भएको भनेर स्मरण गरेका हुन् ।

ओलीले आफ्ना कार्यकर्ताले मतदानको गणना नसकिएसम्म सुत्न नहुने बताएका हुन् । उनले पशुपतिमा एउटा बाँदर आएर टोकरी खोस्ने गरेझैँ पाँचवटा बाँदरहरु भएको भनेर सत्ता गठबन्धनका पाँच दलप्रति व्यंग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !