७ बैशाख २०८१, शुक्रबार

आरजुको अभिव्यक्तिबारे आयोगले थाल्यो छानबिन, आजै स्पष्टीकरण सोध्न सक्ने


आरजु राणा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ ।

आरजुले निर्वाचन प्रचार-प्रसारका क्रममा दिएको अभिव्यक्तिबारे आयोगले छानबिन थालेको हो । आयोग स्रोतका अनुसार सम्भवत: उनलाई आयोगले आजै स्पष्टीकरण सोध्न तयारी गरेको छ ।

आयोगले सोबारेमा अध्ययन गर्नका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेकोमा आङ आइतबार नै उनीमाथि स्पष्टीकरण सोध्ने भएको हो । आयोगका अनुसार आन्तरिक अध्ययन र उजुरीसमेतका आधारमा उनीका दुई विवादास्पद अभिव्यक्ति नोटिसमा आएका छन् ।

उनका दुवै अभिव्यक्ति आचारसंहिताको उल्लंघन देखिएकोले आजै प्राप्त हुने प्रतिवेदनलाई आयोगको बैठकमा पेस हुने भएकोले स्पष्टीकरण सोध्न सक्ने भएको हो ।

उनले सुदूरपश्चिम प्रदेशका स्थानीय तह भ्रमणका क्रममा विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले डडेल्धुरामा कुनै स्वतन्त्र उम्मेदवारको नाम लिई त्यसमा मत नदिन आग्रह गरेकी थिइन् भने कांग्रेसका उम्मेदवार निर्वाचित नहुने स्थानीय तहमा बजेट कटौती हुने समेत धम्की दिएकी थिइन् ।

यस्तै उनले कैलालीमा चुनावी प्रचार-प्रसारका क्रममा आफूहरुलाई सहयोग गर्ने युवाहरुमध्ये केहीलाई छानेर ‘फ्री भिसा, फ्री टिकट’मा मलेसिया रोजगारमा पठाउने आश्वासन समेत दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !