८ बैशाख २०८१, शनिबार

विराटनगरमा कांग्रेसको आज चुनावी सभा : देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने


शेरवहादुर देउवा

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आज बुधबार प्रदेश १ को राजधानी विराटनगरमा चुनावी सभा गर्दै छ । कांग्रेसले देशका ७ वटै प्रदेशमा गर्ने चुनावी सभाको सुरुवात आजदेखि विराटनगरबाट गर्न लागेको हो ।

कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पार्टीको तयारीका लागि मुलुकका विभिन्न स्थान र समयमा खुला सभा आयोजना गर्ने तय भएको कार्यक्रम अनुसार चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आज विराटनगर जाँदै छन् ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयानुसार आयोजना गरिएका सभाहरुमा पार्टीका सभापति, नेता एवं पदाधिकारीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् । विराटनगर महानगरपालिका लक्षित चुनावी सभालाई सम्बोधन गर्न देउवा विराटनगर जाने भएका हुन् ।

आज वैशाख २१ गते दिउँसो १२ बजे मोरङ जिल्लाको विराटनगरको पुष्पलाल चोकमा हुने चुनावी सभामा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायत अन्य वक्ताहरूले सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

स्थानीय निर्वाचनमा गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवको उम्मेदवारी परेतापनि चुनावी सभा भने कांग्रेस एक्लैले गर्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !