११ बैशाख २०८१, मंगलबार

स्थानीय निर्वाचनका लागि लमजुङमा उम्मेदवारविरुद्ध उजुरी


स्थानीय निर्वाचन

लमजुङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक जनाको दाबी विरोधको उजुरी परेको छ । आज तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो ।

जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको मस्र्याङ्दी गाउँपालिकाको निर्वाचन अधिकृत उदयराज काफ्लेले बताए ।

उनले भने, “कतिला विरुद्धमा नेपाली कांग्रेसबाट सोही वडामा वडाध्यक्षका उम्मेदावर मिनराशी गुरुङले दाबी विरोध उपर उजुरी दिएको छ ।” केही महिना अघि न्यादी आयोजनाको सिमेन्ट ओसारपोसारका क्रममा ढाँका चोरी मुद्दामा केश परेको थियो ।

सो विरुद्धमा अदालतमा परेको मुद्दा देखाएर उहाँले दाबी विरोध उपरको उजुरी दिएका छन् । आएका दाबी विरोध उपरको उजुरीमाथि छानबिन गरिने उनले बताए ।

उक्त कतिलालाई अदालतले एक महिना कैद र रु १२ हजार जरिवाना तोकेको र सो कैद भुक्तानी गरिसकेको निर्वाचन अधिकृत काफ्लेले बताए । जिल्लाको अन्य स्थानीय तहमा भने कुनै पनि उम्मेदवारविरुद्ध दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले जनाएको छ ।

जिल्लामा विभिन्न पदका लागि एक हजार १४७ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !