१३ बैशाख २०८१, बिहिबार

स्थानीय तहको निर्वाचन : सामूहिक प्रदर्शनसँगै राजनीतिक उत्सव


धनराज आचार्य

काठमाडौँ । “यो मेरो र मेरो पार्टीको मात्रै उम्मेदवारी होइन, हाम्रो हो । म भन्ने कुरा त्यागौँ, हामी भन्ने कुरालाई आत्मसात गरौँ”, कास्कीको पोखरा महानगरमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका धनराज आचार्यको भनाइ हो यो ।

नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र नेकपा(माओवादी केन्द्र)का नेता हितराज पाण्डेलाई दायाँबायाँ राखेर आचार्यले सामूहिकतामा विश्वास गर्न तथा म र मेरो भन्ने मान्यता त्याग्न आग्रह गरे । उनले महानगरका लागि दिइएको उम्मेदवारी सत्तागठबन्धनको सामूहिक भावनाको उपज भएको बताउनुभयो । आचार्य नेकपा (एकीकृत समाजवादी)को प्रस्तावमा गठबन्धनको साझा उम्मेदवार हुन् ।

यसबाट सत्ता गठबन्धनमा देखिएका केही तितामिठा विषयलाई मिलाएर जानुपर्छ भन्ने मनोविज्ञान चित्रित भएको छ । गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलले देशव्यापी रुपमा नै साझा उम्मेदवार तय गरेका छन् । केही स्थानमा कुरा मिल्न नसकेको भए पनि उम्मेदवारी फिर्ता लिने दिनसम्म सबै असन्तुष्टिलाई सम्बोधन गर्ने शीर्ष नेताहरुको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आजै बसेको सत्ता गठबन्धनको बैठकले पनि केन्द्रीय नीतिअनुसार नै उम्मेदवारी दर्ता गराउन निर्देशन दिएको थियो । बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको निर्णयअनुसार नै उम्मेदवारी दर्ता गराउन सबैलाई आग्रह गरिएको जानकारी दिएका थिए ।

निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवारी मनोनयनका लागि छुट्याएको छ । संविधानसभाबाट संविधान जारी भएपछि हुन लागेको दोस्रो निर्वाचन आफैँमा महत्वपूर्ण र ऐतिहासिक पनि छ । विसं २०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन गरिएको थियो । यही वैशाख ३० गते हुने निर्वाचन भने एकै चरणमा गर्ने तयारी आयोगले गरेको छ ।

प्रमुख राजनीतिक दलले उत्साहका साथ निर्वाचनमा सहभागिता जनाएका छन् । उम्मेदवारी दर्ताका क्रममा देखिएको स्थानीय भाषा, संस्कृति तथा प्रचारले पनि त्यही देखाएको छ । काठमाडौँ उपत्यकामा उम्मेदवारी दर्ता गराउन पुगेका उम्मेदवारको स्वागतमा बजाइएका धिमे बाजा, स्थानीय संस्कृतिसँग जोडिएका भेषभूषासहितको प्रस्तुतीले पनि निर्वाचन लोकतन्त्रको सर्वोत्तम साधन हो भन्ने देखाएको छ । निर्वाचनले राजनीतिक दललाई मात्रै नभई, नागरिकलाई एक प्रकारको उत्साह पैदा गरिदिन्छ । यसपटक पनि त्यस्तै भएको छ ।

काठमाडौँ महानगरमा गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउन पुग्नुभएकी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहको अघिपछि बजेको धिमे बाजा, पञ्चेबाजाले पनि नेपालीको विविधतालाई झल्काइदिएको छ । भरतपुरमा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी रेणु दाहाल र उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीको समर्थनमा पनि पञ्चेबाजासहितको नेपाली संस्कृति र सामूहिकताको प्रदर्शन भएको टिप्पणी गरिएको छ ।

देशभर ६ महानगर, ११ उपमहानगरपालिकासहित ७५३ वटै स्थानीय तहमा आज उम्मेवादी दर्ता गराउने अन्तिम दिन हो । गठबन्धनका तर्फबाट अधिकांश उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय जाँदा सामूहिकताको प्रदर्शन गरेको देखिन्छ ।

गठबन्धनमा आबद्ध सबै दलका झण्डा, तुल व्यानर पनि त्यस्तै प्रदर्शन गरिएको थियो । गठबन्धनका दलबीच देखिएका विवादका सम्बन्धमा नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्रमा यस्तो विषयले सुन्दरता नै थप्ने टिप्पणी गरे ।

उहाँले गठबन्धनमा आबद्ध रहेका दलहरुबीच नै गठबन्धन र तालमेल गर्ने नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न पार्टीका सबै समितिलाई निर्देशन दिइएकोसमेत जानकारी दिएका थिए । केही स्थानमा गठबन्धनको नीति विपरीत गठबन्धन भएको भए त्यसलाई उम्मेदवारी फिर्ता हुने दिनसम्म फिर्ता गराउने नीति गठबन्धनको रहेको प्रवक्ता महराको भनाइ छ ।

“एउटा उद्देश्यका लागि गठन भएको गठबन्धनको मर्म र भावना विपरीत जाने छुट कोही कसैलाई छैन । यसमा आबद्ध सबै दलको एउटै धारणा छ । त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्छौ”, प्रवक्ता महराले भने । उनले देशभर ६० प्रतिशत स्थानमा गठबन्धन भएको जानकारी दिँदै बाँकी ४० प्रतिशत स्थानमा पनि मिलाइने विश्वास व्यक्त गरे ।

एउटै पार्टीमा त एउटाले टिकट पाउँदा अर्को रिसाउने र असन्तुष्टि व्यक्त गर्ने हुँदा गठबन्धनमा यस्तो देखिनु लोकतन्त्रको सुन्दर पक्ष रहेको भन्दै उहाँले असन्तुस्टिलाई उचित तरिकाले सम्बोधन गरिने उल्लेख गरे ।

यस्तो छ निर्वाचनको इतिहास

नेपालमा पहिलोपटक विसं २००४ मा संविधान जारी भएपछि गाउँ तथा नगरपञ्चायतको चुनाव भएको थियो । त्यसको सात वर्षपछि अर्थात् २०१० सालमा दोस्रोपटक र २०१४ सालमा तेस्रोपटक स्थानीय निकायको चुनाव भएको इतिहास छ । विसं २०१४ मा गाउँपञ्चायत र २०१८ मा नगरपञ्चायतको निर्वाचन भएको आयोगले जनाएको छ ।

विसं २०१० को निर्वाचनमा काठमाडौँ–८ बाट साधना प्रधान जनप्रतिनिधि निर्वाचित हुनुभएको थियो । प्रधान नै पहिलो निर्वाचित महिला जनप्रतिनिधिका रुपमा स्थापित हुनुहुन्छ । आयोगका अनुसार नगरपञ्चायत निर्वाचन २०१९ जेठदेखि विभिन्न मितिमा, जिल्लासभा र जिल्ला पञ्चायत निर्वाचन २०१९ सालदेखि विभिन्न मितिमा, अञ्चलसभा र अञ्चल पञ्चायत निर्वाचन २०२० सालदेखि विभिन्न मितिमा सम्पन्न भएका थिए ।

विसं २०३९ वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते गाउँपञ्चायत तथा नगरपञ्चायत, २०३९ साल असार २ गते जिल्ला पञ्चायत, २०४३ साल चैत ७ र १० गते गाउँ पञ्चायत तथा नगरपञ्चायत एवं २०४४ साल वैशाख २६ गते जिल्ला पञ्चायतको चुनाव भएको थियो ।

प्रजातन्त्रको पुनःस्थापनापछि स्थानीय निकायको निर्वाचन २०४९ जेठ १५ र १८ गते गाउँविकास समिति तथा नगरपालिका निर्वाचन भएको थियो । विसं २०४९ असार १३ गते जिल्ला विकास समिति निर्वाचन, २०५४ जेठ ४ र १३ गते गाउँपालिका र नगरपालिका निर्वाचन तथा २०५४ असार २७ गते जिल्ला विकास समितिको चुनाव भएको थियो । विसं २०६२ माघ २६ गते पनि नगरपालिका निर्वाचन गरिए पनि त्यसले राजनीतिक रुपमा वैधानिकता पाउन सकेन ।

संविधानसभाबाट संविधान बनेपछि २०७४ सालमा स्थानीय तहको निर्वाचन गरियो । विसं २०७४ को वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा निर्वाचन गरिएको थियो । सो निर्वाचनमा ५७ राजनीतिक दलले भाग लिएका थिए जसमध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रहेको थियो ।

स्थानीय तहको निर्वाचनमा २३३ स्वतन्त्रसहित ३५ हजार ४१ जनप्रतिनिधिको निर्वाचित भएका थिए । त्यस निर्वाचनका लागि एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता कायम भएकामा एक करोड चार लाख ८९ हजार २०४ ले मतदान गरेको आयोगको विवरणमा उल्लेख छ ।

मुलकमा हाल छ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तह र छ हजार ७४३ वडा छन् । यही वैशाख ३० गने हुन लागेको निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

कूल मतदातामध्ये पुरुष ८९ लाख ९२ हजार १०, महिला ८७ लाख ४१ हजार ५३० र अन्य १८३ जना छन् । जनप्रतिनिधि चयन गर्ने सबैभन्दा उत्तम विकल्प मानिएको निर्वाचन आफैँमा राजनीतिक उत्सव र सामूहिक भावना अभिव्यक्त गर्ने महत्वपूर्ण चाडसमेत हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !