८ बैशाख २०८१, शनिबार

मकवानपुरमा स्थानीय निर्वाचनको चुनावी सरगर्मी सुरु


स्थानीय निर्वाचन

बागमती । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दलहरूले मकवानपुरमा चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिएसगै बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुरमा दलहरूले चुनावी कार्यक्रमलाई तीव्रता दिएका हुन् । पार्टीका आन्तरिक भेला प्रशिक्षणसँगै विभिन्न कार्यक्रम लिएर नेता, कार्यकर्ता जनताको घरदैलोमा पुग्न थालेका छन् । दलका गतिविधिले मकवानपुरमा चुनावी सरगर्मी बढेको छ ।

सङ्घीय राजधानी काठमाडौंमा धेरै समय बिताउने अधिकांश नेताहरू जिल्ला फर्किसकेका छन् भने कोही फर्किने क्रममा छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा बस्ने जिल्लास्तरका नेताहरु पनि आ आफ्ना गाउँघर पुग्न थालेका छन् । विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राप्रपालगायत दलका गतिविधि बढेको देखिन्छ ।

एक उपमहानगरपालिका र एक नगरपालिकासहित आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको मकवानपुरमा दलहरुले निर्वाचनको प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । तीदलले आ–आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्नका लागि प्रत्येक चोक, टोल र गल्लीका साथै घरघरमा ब्यानर र झण्डा लिएर पुग्न थालिसकेको छ ।

बजारको चिया, पान पसल र चौतारामा निर्वाचन सम्बन्धी विभिन्न आँकल, छलफल तथा बहससमेत सुरु भएको छ । कसले जित्ने र कसले हार्ने तथा कसले केकति जनताका पक्षमा काम गरेजस्ता विषयमा पनि टीकाटिप्पणी, आकलन र मूल्याङ्कन भइरहेको छ । गाउँपालिका क्षेत्रमा समेत प्रचारप्रसार र छलफल भइरहेको बुझिएको छ ।

अर्कोतिर विभिन्न राजनीतिक पार्टीले उम्मेदवारको टुङ्गो लगाउने प्रक्रियामा छन् भन्ने र को कुन पदमा उम्मेदवारी दिइने भन्ने छलफलका क्रममा रहेको पाइएको छ । नेकपा (एमाले)ले अधिकांश स्थानमा उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।

हालसम्म टुङ्गो लगाइसकेको कुनै पनि स्थानमा एमालेले महिलालाई नेतृत्वमा अगाडि बढाएको देखिएको छैन । महिलाले बकैया गाउँपालिकाबाहेक कहीँपनि दाबी गरेको छैन । महिलाले उपप्रमुख वा उपाध्यक्ष पदमा नै आफूलाई सीमित राखेको देखिन्छ । अन्य राजनीतिक दलको पनि महिलालाई नेतृत्वदायी पदमा उम्मेदवार बनाउने अवस्था नदेखिएको विभिन्न राजनीतिक दलका नेताहरुले बताएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको र निर्वाचनका लागि प्राविधिक काम सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले भने ।

सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा र सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकामा मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता रहेका छन् । निर्वाचन आयोगले २०७९ वैशाख २९ सम्म १८ वर्ष पूरा भएका नागरिकलाई समावेश गरेर प्रकाशित गरेको अन्तिम नामावलीअनुसार मकवानपुरमा दुई लाख ९४ हजार ९१९ मतदाता रहेको छ । तीमध्ये एक लाख ४९ हजार ९५४ पुरुष तथा एक लाख ४४ हजार ९५९ महिला र छ तेस्रोलिङ्गी मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी हेटाँैडा उपमहानगरपालिकामा ५० हजार ७२५ पुरुष, ५३ हजार ७४५ महिला र तीन जना तेस्रोलिङ्गी गरी कूल एक लाख चार हजार ४७३ मतदाता रहेका छन् । त्यस्तै सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकामा छ हजार ४६५ पुरुष र छ हजार छ महिला गरी कूल १२ हजार ४७१ मतदाता रहेका छन् । यसैगरी थाहा नगरपालिकामा १६ हजार ६९९ पुरुष, १५ हजार ६०७ महिला र एक तेस्रोलिङ्गी गरी कूल ३२ हजार ३०७ मतदाता रहेको जनाइएको छ । कार्यालयका अनुसार बकैया गाउँपालिकामा १५ हजार ५९३ पुरुष, १४ हजार ३४८ महिला र दुई तेस्रोलिङ्गी गरी कूल २९ हजार ९४३ मतदाता रहेका छन् ।

त्यस्तै बागमती गाउँपालिकामा ११ हजार १९० पुरुष र १० हजार ८५० महिला गरी कूल २२ हजार ४०, .भीमफेदी गाउँपालिकामा आठ हजार ९३५ पुरुष र आठ हजार ४९३ महिला गरी कूल १७ हजार ४२८, मनहरी गाउँपालिकामा १३ हजार ७०९ पुरुष र १३ हजार १२ महिला गरी कूल २६ हजार ७२१, मकवानपुरगढी गाउँपालिकामा नौ हजार ८९९ पुरुष र नौ हजार २१९ महिला गरी कूल १९ हजार ११८, राक्सिराङ गाउँपालिकामा आठ हजार ७४७ पुरुष र सात हजार ८५ महिला गरी कूल १५ हजार ८३२ तथा कैलाश गाउँपालिकामा सात हजार ९९२ पुरुष र छ हजार ५९४ महिला गरी कूल १४ हजार ५८६ मतदाता रहेका छन् ।

जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र कायम गरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लामा चार तहको सुरक्षा संयन्त्रण परिचालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै मतदान केन्द्रको सुरक्षाका लागि एक हजार ४७१ म्यादी प्रहरीलाई पनि परिचालन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

जिल्लामा १९ मतदानस्थल अतिसंवेदनशील रहेको र त्यसका लागि सुरक्षा प्रबन्ध मिलाइने उहाँले भन्नुभयो । जिल्लाका १० स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित २० पद र १०२ वडाका लागि वडाध्यक्ष र सदस्यसहित गरी ५१० पदका निर्वाचन हुने बताइएको छ । निर्वाचनमा एक हजार ७६७ कर्मचारी खटिने निर्वाचन कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !