७ बैशाख २०८१, शुक्रबार

एकैदिन काँग्रेसका दुई नेताको फरक अभिव्यक्ति, गगन र प्रकाशमानको कुरो बाँझियो

गगन- कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा छैनन्, सिंह- गठबन्धन मुलुकको वर्तमान आवश्यकता हो


प्रकाशमान सिंह र गगन थापा

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका विषयमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका दुई शीर्ष नेताहरुले आज एकैदिन फरक-फरक अभिव्यक्तिहरु दिएका छन् । चुनावी तालमेलका विषयमा कांग्रेसका महामन्त्री गगन थापा र गत काँग्रेस अधिवेशनमा सभापति पदका उम्मेदवार समेत रहेका नेता प्रकाशमान सिंहले दिएका दुई फरक अभिव्यक्तिहरु परस्पर बाँझिएका हुन् ।

स्थानीय निर्वाचनमा महामन्त्री थापा काँग्रेसले कुनै हातलमा पनि तालमेल गर्नु नहुने पक्षमा देखिएका छन् भने नेता सिंह काँग्रेसले तालमेल गर्नुपर्ने पक्षमा उभिएका छन् । थापाले स्थानीय निर्वाचनमा कांग्रेसका कार्यकर्ता पनि तालमेलको पक्षमा नरहेको स्पष्ट पारेका छन् भने नेता सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताएका छन् ।

के भने महामन्त्री थापाले आज ?

कांग्रेसका महामन्त्री थापाले घुमाउरो शैलीमा स्थानीय तहको निर्वाचनमा काँग्रेसले तालमेल गर्नु नहुने पुन: दोहोर्याएका छन् । महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसले स्थानीय चुनाव हारेपनि कुनै हालतमा तालमेल गर्नु नहुने स्पष्ट पारेका हुन् ।

थापाले कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताउदै निर्वाचनमा हारजित स्वाभाविक भएकोले त्यहीअनुसार अघि बढ्नु कार्यकर्तालाई निर्देशन समेत दिएका हुन् । उनले आफू विभिन्न जिल्लाका नेता-कार्यकर्तासँग सम्पर्कमा रहेको सुनाउदै ५० भन्दा बढी जिल्लाका पार्टीका मतदातादेखि नेता-कार्यकर्ता तालमेलको विपक्षमा रहेको खुलासा गरेका हुन् ।

आम पार्टीका नेता-कार्यकताहरु विचार प्रमुख भन्ने कुरामा अडिग रहेको समेत बताउदै जबरजस्ती तालमेल लाद्ने हो भने सोचेभन्दा मतदाता भड्किएर फरक व्यवहार गर्न सक्ने भन्दै अरु पार्टीमा मत जानुको साथै बितृष्णा समेत पैदा हुनसक्ने संकेत गरेका हुन् ।

यसो भने नेता सिंहले

कांग्रेसका नेता सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताएका छन् । सामाखुसी यातायात प्रालिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन एवम् प्रजातान्त्रिक यातायात व्यवसायीलाई सम्मान’ कार्यक्रममा उहाँले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन् ।

“वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ, कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ”, उनले भने । निर्वाचन केन्द्रित भएर लाग्न नेता सिंहले सबैलाई आग्रहसमेत गरे ।

पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकको अर्थतन्त्रमा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यातायात व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताए । उनले प्रजातान्त्रिक यातायात व्यवसायीले पार्टीको शुभेच्छुक संस्थाका रुपमा राखेको माग सम्बोधन गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !