७ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै


सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच भागबण्डाका विषयमा छलफल हुने बुझिएको छ । यद्यपि गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाका विषयमा तीब्र मतभेद सिर्जना भएको छ ।

सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी समेत दिएका छन् । एकीकृत समाजवादीलाई सम्मानजनक सिट नदिने संकेत पाएका अध्यक्ष नेपालले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिको अवमूल्यन नगर्न गठबन्धनकै अन्य दललाई चेतावनी दिएका थिए । अध्यक्ष नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको समेत गुनासो गर्दै आएका छन् ।

सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा भागबण्डाबारे हिजो पनि सहमति जुट्न सकेन । हिजो आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समितिको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

गठबन्धनमा रहेका पाँच दलहरुले स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा गरिने भनिएको भागबण्डाको तालमेलबारे आज सोमबारसम्म टुंग्याउने भएका छन् । गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा आजसम्म टुंगो लगाइसक्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !